जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा नेकपा एमाले निकट अनेरास्ववियुले ताला लगाएको छ। प्रतिष्ठानमा रिक्त पदमा करार सेवाका लागि कर्मचारी छनौट गर्न बनेको परीक्षा समितिले अनियमितता गरेको भन्दै अस्पताल प्रशासनमा ताला लगाइएको हो। अखिलको तालाबन्दीका कारण प्रशासनका सबै काम ठप्प भएका छन्।
परीक्षा समितिले केन्द्रीय कार्यालय जुम्ला र सम्पर्क कार्यालय काठमाडौंबाट पनि परीक्षा लिएको र एउटै तह र पदका लागि फरक प्रश्नपत्र छपाएको भन्दै अनेरास्ववियुमा आवद्ध विद्यार्थीले तालाबन्दी गरेका हुन्। अनेरास्ववियु जुम्लाले प्रेस विज्ञाप्ति जारी गर्दै प्रतिष्ठानको परीक्षा प्रर्णालीप्रति असन्तुष्टि व्यक्त गरेको छ।
अनेरास्ववियु जुम्लाका सचिव भरत नेपालीद्वारा जारी विज्ञाप्तिमा ५ बुँदे माग राखी ३ दिनभित्र सम्बोधन गर्न अल्टिमेटम दिइएको छ।
अनेरास्ववियुले २०७४ असोज २१ मा सञ्चालन भएको परीक्षाका सबै प्रक्रिया खारेज गरी आगामी दिनमा सञ्चालन हुने परीक्षा मर्यादित र केन्द्रीय कार्यालयबाटै हुनुपर्ने, परीक्षा समितिमा संलग्न सबैलाई कारबाही हुनुपर्ने, परीक्षामा सम्मिलित परिक्षार्थीलाई क्षतिपूर्ति दिनुपर्ने, प्रतिष्ठानका सम्पूर्ण सेवा विश्वसनीय, सर्वसुलभ र भरपर्दो बनाउनु पर्ने र सम्पूर्ण कर्मचारीलाई सेवामैत्री व्यवहार गर्न निर्देशन गर्नुपर्ने माग राखेको छ।
तीन दिनभित्र माग सम्बोधन हुन नसके चरणबद्ध संघर्षका कार्यक्रम अघि बढाउने र आन्दोलनबाट पर्न जाने असुविधाप्रति प्रतिष्ठान आफैँ जवाफदेही बन्नु पर्ने चेतावनी दिइएको छ।
प्रतिष्ठानमा ताला लगाउने अखिलका सचिव भरत नेपाली लगायतका विद्यार्थीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। यसअघि तह मिलानमा बेवास्था गरेको भन्दै प्रतिष्ठानका कर्मचारीले आकस्मिक लगायतका सवै सेवा ठप्प पारेका थिए।
यस्तो छ विज्ञप्ति
