काठमाडौं- आँखाको प्लाष्टिक शल्यक्रिया सम्बन्धी तेश्रो राष्ट्रिय अकुलोप्लाष्टिक सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । सम्मेलन नेपाल अकुलोप्लाष्टिक सोसाइटी फर सर्जनस्को आयोजनामा भएको हो ।
आज र भोलीसम्म चल्ने सम्मेलनमा नेपालसहित क्यानडा, बेलायत, अमेरिका, स्विजरल्याण्ड, ब्राजिल, चिली, स्पेन, जापान, भारत, पाकिस्तान र बंगलादेशका दुई दर्जनभन्दा बढी विज्ञको सहभागिता छ ।
‘सुन्दर दृष्टिका लागि सहकार्य’ विषयमा आधारित तेश्रो सम्मेलनमा आँखाको प्लाष्टिक शल्यक्रिया सेवामा भएका नयाँ र आधुनिक उपचार पद्धती, जनशक्ति लगायतका विषयमा छलफल हुनेछ।
अकुलोप्लाष्टिक विशेषज्ञ तथा आयोजक समितिका अध्यक्ष डा.रोहित सैजुंका अनुसार अकुलोप्लाष्टिक विधामा आँखाको सौन्दर्यदेखि क्यान्सरसम्मको उपचार पर्छन् । ‘दुर्घटनाका कारण बिग्रेकोदेखि आँखाको प्राकृतिक आकार परिवर्तन गर्न चाहनेसम्मलाई यो विधाले समेट्दछ’ उनले भने, ‘अकुलोप्लाष्टिकले आँखाको डल्लो बस्ने ठाँउ, आँखाको डिल, आँसु नली र अनुहारको आकृतीलाई समावेश गदर्छ साथै यसले आँखाको बिग्रिएको संरचनालाई उपचार पद्दतीबाट पूनःसंरचना गर्ने काम गर्दछ ।’
डा सैजुंका अनुसार सामान्य अकुलोप्लाष्टिक सेवा नेपालमा विभिन्न आँखा अस्पतालले उपलब्ध गराइरहेका छन् तर जटिल अकुलोप्लाष्टिक शल्यक्रियाकोलागि राजधानीमा नै धाउनुपर्ने बाध्यता छ ।