काठमाडौं- संघीय संरचना अनुसार स्वास्थ्य नीति बनाउन बिनविभागिय बनाइएका पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले गठन गरेको उच्चस्तरिय संघीयता कार्यान्वयन तथा स्वास्थ्य नीति तर्जुमा समिति खारेज भएको छ।
नवनियुक्त स्वास्थ्य मन्त्री दिपक बोहराले पुरानो समिति खारेज गर्दै नयाँ समिति गठन गरेका छन्। उक्त समिति मन्त्रीपरिषद् बैठकबाट पास हुन बाँकी छ।
नयाँ समितिमा यसपटक स्वास्थ्य सचिवलाई नै उपाध्यक्ष बनाइएको छ। अघिल्लो समितिमा चीनका लागि पूर्व राजदुत डा महेश मास्के कार्यकारी उपाध्यक्ष थिए । उक्त समितिको काम निजी संस्थालाई दिएको झैँ रहेको र मन्त्रालयमा उक्त समितिको कामको आधिकारिकता नभएको भन्दै नयाँ समिति बनाइएको नवनियुक्त मन्त्री बोहराको सचिवालयले जनाएको छ ।
अघिल्लो समितिमा झैँ ११ सदस्यीय नयाँ समितिको अध्यक्ष मन्त्री आफैँ छन् । सदस्यहरुमा भने पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्र, पूर्व प्रमुख विशेषज्ञ डा पदम बहादुर चन्द, पूर्व महानिर्देशक डा यशोवर्धन प्रधान, वरिष्ठ शल्यचिकित्सक डा रामप्रसाद श्रेष्ठ, डा मधु दिक्षित देवकोटा, गोमादेवी निरौला, जनस्वास्थ्य विशेषज्ञ अर्जुन बहादुर सिंह, आयुर्वेद विज्ञ ऋषिराम कोइराला र स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अन्तराष्ट्रिय समन्वय महाशाखा प्रमुख रहेका छन्।
समितिले नयाँ संविधान अनुसार स्वास्थ्य नीति तयार गर्नेछ।
पूर्व स्वास्थ्य मन्त्री पोखरेलको अध्यक्षतामा रहेको समितिमा भने कार्यकारी उपाध्यक्ष डा महेश मास्के र सदस्यहरुमा डा बद्रीराज पाण्डे, डा शरद वन्त, डा सेनेन्द्रराज उप्रेती, डा पदमबहादुर चन्द, डा वाइपी सिंह, डा वासुदेव उपाध्याय र दयालक्ष्मी वैद्य थिए। यो समितिले नीतिको पहिलो मस्यौदा तयार पारिसकेको छ।
मन्त्रीपरिषद्ले भदौ ५ मा स्वास्थ्य मन्त्रीको अध्यक्षतामा ११ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।
