काठमाडौं- डा गोविन्द केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबिबिएस अध्ययनका लागि लिएको प्रवेश परीक्षामा भएको चिट चोरीको छानबिनलाई छिटो टुग्याउन ध्यानाकर्षण गरेका छन्।
डा केसीले आज विज्ञप्ति जारी गर्दै उक्त प्रकरण र त्यसपछि विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण गर्दै दोषिलाई कारबाही गर्न माग गरेका हुन्।
‘चिकित्सा जस्तो संवेदनशील क्षेत्रमा प्रवेश गर्ने विद्यार्थीहरुका लागि भएको परीक्षामा त्यस खालको चोरी हुनु सर्वथा निन्दनीय छ । त्यसमा दोषी जो कसैलाई पनि निष्पक्ष छानविन गरेर कडाभन्दा कडा दण्ड दिइनुपर्छ भन्नेमा दुईमत छैन । जुनसुकै तहबाट यो विषयमा छानविन भइरहेको भए पनि विषयवस्तुको गम्भीरता र हजारौं विद्यार्थीको भविष्यमा पर्ने प्रभाव हेरेर अहिलेसम्म त्यसको प्रतिवेदन आएर पुनः परीक्षाबारे निर्णय भइसक्नु पर्ने हो,’ डा केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर छानविनका नाममा अनिश्चितकालसम्म अहिलेको अन्योल कायम राख्ने कामले त्रिवि पदाधिकारीहरु यो समस्या समयमै समाधान गर्न चाहन्छन् कि यो वहानामा आफ्ना अरु कुत्सित स्वार्थ पूरा गर्न चाहन्छन् भन्ने प्रश्न उठेको छ ।’
डा केसीले यही मौका पारेर स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार अभियानमा लागेका व्यक्तिहरुलाई समेत लाञ्छित गर्ने गरी आधारहीन आरोप लगाइएको समेत विज्ञप्तिमा उल्लेख गरेका छन्।
डा केसीले त्रिविले गर्ने भनेको छानविन अनिश्चितकालसम्म लम्ब्याइनु आइओएमको नेतृत्वलाई असफल पारेर मेडिकल माफियाहरुलाई ल्याउन चलखेल गरिन लागेको त हैन भन्ने प्रश्न पनि विज्ञप्ति मार्फत गरेका छन् ।
डा केसीले एमबिबिएस अध्ययनको शैक्षिक क्यालेन्डर शुरु हुन लागेकोले छिटोभन्दा छिटो छानबिन टुंग्याएर आवश्यक परेको खण्डमा पुन परीक्षा समेत लिन माग गरेका छन् ।
हेरौँ विज्ञप्तिको पूर्ण पाठ
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले लिएको प्रवेश परीक्षामा भएको चिट चोरी प्रकरण र त्यसपछि विकसित घटनाक्रमहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
चिकित्सा जस्तो संवेदनशील क्षेत्रमा प्रवेश गर्ने विद्यार्थीहरुका लागि भएको परीक्षामा त्यस खालको चोरी हुनु सर्वथा निन्दनीय छ । त्यसमा दोषी जो कसैलाई पनि निष्पक्ष छानविन गरेर कडाभन्दा कडा दण्ड दिइनुपर्छ भन्नेमा दुईमत छैन । जुनसुकै तहबाट यो विषयमा छानविन भइरहेको भए पनि विषयवस्तुको गम्भीरता र हजारौं विद्यार्थीको भविष्यमा पर्ने प्रभाव हेरेर अहिलेसम्म त्यसको प्रतिवेदन आएर पुनः परीक्षाबारे निर्णय भइसक्नु पर्ने हो ।
तर छानविनका नाममा अनिश्चितकालसम्म अहिलेको अन्योल कायम राख्ने कामले त्रिवि पदाधिकारीहरु यो समस्या समयमै समाधान गर्न चाहन्छन् कि यो वहानामा आफ्ना अरु कुत्सित स्वार्थ पूरा गर्न चाहन्छन् भन्ने प्रश्न उठेको छ । यही मौका पारेर स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार अभियानमा लागेका व्यक्तिहरुलाई समेत लाञ्छित गर्ने गरी आधारहीन आरोपहरु केही सञ्चार माध्यमहरुमा फैलाइनु तथा यस विषयमा त्रिविले गर्ने भनेको छानविन अनिश्चितकालसम्म लम्ब्याइनुले कतै यसै वहानामा आइओउमको नेतृत्वलाई असफल पारेर मेडिकल माफियाहरुलाई ल्याउन चलखेल गरिन लागेको त हैन भन्ने प्रश्न पनि उठेको छ ।
त्यसैले विद्यार्थीहरुलाई पर्ने मर्का र शैक्षिक क्यालेण्डर नै प्रभावित हुने अवस्थालाई मध्यनजर गर्दै छिटोभन्दा छिटो छानविन टुंग्याएर आवश्यक परेको खण्डमा पुनः परीक्षा समेत गरेर शैक्षिक कार्यक्रमहरु सुचारु गर्न तथा यो प्रकरणका दोषीहरुलाई अविलम्ब कारवाही गर्न हामी यसै विज्ञप्तिमार्फत सम्बन्धित सबै पक्षहरुको ध्यानाकर्षण गराउँछौं । साथै यो प्रकरणसमेत जोडेर हाम्रो सुधार अभियानलाई तथा मलाई व्यक्तिगत रुपमा केही सञ्चार माध्यमहरुले लगाएका भनिएका आरोपहरुमा तत्काल सम्बन्धित निकायले निष्पक्ष छानविन गरोस् भन्ने माग गर्दै त्यस्तो कुनै पनि छानविनमा पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।
साथै प्रवेश परीक्षामा भएको चिट चोरी प्रकरणका भरमा जबर्जस्ती माफियाहरुलाई ल्याएर स्थापित गर्ने कोशिस भयो भने त्यसको कडा प्रतिवाद गर्ने पनि जानकारी गराउँछौं ।
डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं