जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा रहेको एक्स–रे मेसिन बिग्रिँदा बिरामी मर्कामा परेका छन । एक्स–रे नहुँदा सामान्य खालका बिरामीको उपचारमा समेत समस्या परिरहेको छ।
पाँच दिनदेखि बिग्रिएको एक्स–रे मेसिन मर्मतको कुनै पहल नहुँदा बिरामीले सास्ती खेप्नु परेको बिरामीका आफन्तले गुनासो गरका छन्।
हिमा गाउँपालिकाका कार्यकारी अधिकृत कर्णबहादुर कठायतको मोटरसाईकल दुर्घटना परि खुट्टा भाँचिदा पनि एक्सरे नहुँदा उपचार हुन सकेको छैन। ‘बिग्रेको एक्स–रे बन्छ भन्दा भन्दै दिन बित्न थालेपछि वाध्य भएर नेपालगंज जानुपर्यो’ उनले भने, ‘बिग्रेको एक्सरे बनाउनको लागि अस्पताल प्रशासनले कुनै तदारुकता देखाउन नसक्दा म जस्तै दर्जनौँ विरामी फिर्ता हुनु परेको छ ।’
उनका अनुसार अस्पतालको एक्स रे नहुँदा आर्थिक अवस्था कमजोर भएका बिरामी बढी समस्या परेका छन् । ‘रेफर गरेर सुविधा सम्पन्न अस्पतालमा जाँदा झन धेरै खर्च लाग्छ,’ उनले भने ।
अस्पतालमा आएका बिरामीमध्ये ५० भन्दा बढीलाई दैनिक एक्स रेको आवश्इकता पर्छ । तर, मेसिन नुहँदा उनीहरु त्यसै फर्कन बाध्य छन् ।
अस्पताल पदाधीकारीको लापरवाहीका कारण एक्सरे मेसिन समयमै बन्न नसकेको गुनासो बिरामीको छ । तत्काल एक्सरे मेसिन बनाएर उपचारलाई सहज वनाउनको लागि उनीहरुले माग गरेका छन ।
शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाई एक्सरे मेसिन मर्मतको लागि पहल भईरहेको बताउँछन । उनले भने, ‘अस्पताल भित्रको एक्सरे मेसिन बनाउने प्राविधिकले बनाउन नसकेपछि कालिकोटस्थित प्राविधिकलाई वोलाइएको छ ।’ उनका अनुसार एक्सरे मेसिन बनाउन स्वास्थ्य विभागबाट दुई जना प्राविधिक समेत आईसकेका छन ।