बैतडी- प्रदेश नं ७ मा चालु आर्थिक वर्षमा स्वास्थ्यका ३१ वटा नयाँ भवन निर्माण हुने भएका छन्।
स्वास्थ्य मन्त्रालयले देशभर २५८ नयाँ भवन निर्माणका लागि स्वीकृति दिएसँगै सुदूरपश्चिममा ३१ वटा स्वास्थ्यका नयाँ भवन निर्माण हुने भएका हुन्। सुदूरपश्चिममा बन्ने ३१ वटा नयाँ भवनमध्ये १५ वटा बैतडीमा बन्ने जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए।
बैतडीमा चालु आवमा शंकरपुर स्वास्थ्य चौकी, डिलाशैनी स्वास्थ्य चौकी, विजयपुर स्वास्थ्य चौकी, दशरथचन्द स्वास्थ्य चौकी, वसन्तपुर स्वास्थ्य चौकी, थालाकाँडा स्वास्थ्य चौकी, जोशीबुंगा स्वास्थ्य चौकी, न्वादेउ स्वास्थ्य चौकी, देहीमाण्डौं स्वास्थ्य चौकीका नयाँ भवन निर्माण हुनेछन्।
यसैगरी, न्वाली स्वास्थ्य चौकी, हाडाकोट स्वास्थ्य चौकी, उदयदेव स्वास्थ्य चौकी, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, हटैराज स्वास्थ्य चौकी र जिल्ला अस्पतालको स्टाफ क्वाटरको नयाँ भवन बन्नेछन्।
गत आवमा बैतडीमा १२ वटा स्वास्थ्य चौकीका भवन निर्माण कार्य शुरु गरिएका थिए। योसँगै बैतडीमा रहेका ६८ वटा स्वास्थ्य संस्थामध्ये ३८ स्वास्थ्य संस्थामा नयाँ भवन बन्ने भएका छन्। बाँकी रहेका ३० स्वास्थ्य संस्थाका भवन पनि आगामी वर्षमा नयाँ भवन निर्माणका लागि आग्रह गरिने डा अवस्थीले बताए।
सुदूरपश्चिमका अन्य जिल्लामा १७ वटा नयाँ भवन बन्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। चालु आवमा दार्चुलाको खण्डेश्वरी स्वास्थ्य चौकी, देथला स्वास्थ्य चौकी र गोकुलेश्वर अस्पतालको नयाँ भवन निर्माण कार्य शुरु हुनेछ।
यस्तै, कैलालीको टीकापुर अस्पतालमा स्टाफ क्वाटर, 4 क्वाटर र तालीम कक्ष नयाँ बन्नेछ भने डोटीको गुगडा र धिर्कामाण्डौं स्वास्थ्य चौकीमा पनि नयाँ भवन बन्नेछ।
यसैगरी, डोटीकै सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ स्टाफ क्वाटर बन्नेछ। बझाङको पीपलकोट स्वास्थ्य चौकी र लुयटा स्वास्थ्य चौकीमा नयाँ भवन बन्नेछ भने अछामको कुस्कोट स्वास्थ्य, नवठाना बर्थिङ युनिट, बन्नातोली स्वास्थ्य चौकीमा नयाँ भवन बन्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
साथै, कञ्चनपुरको जिमुवा स्वास्थ्य चौकी र बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन बन्नेछ।
प्रदेश नं ७ अर्थात् सुदूरपश्चिममा बनेका तथा बन्ने नयाँ स्वास्थ्य भवन निर्माणले स्वास्थ्य सेवा सहज हुने विश्वास गरिएको छ।रासस