काठमाडौं– काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले सम्बन्धन खारेज गर्ने निर्णय कानुनसम्मत नभएको भन्दै कार्यान्वयन गर्न रोक लगाएको हो । काठमाडौं नेसनल कलेजका तर्फबाट जैनुद्दिन अन्सारीले असोज ३१ गते रिट दर्ता गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाई गर्दै सर्वोच्चले गत कात्तिक ८ गते त्रिविको निर्णय कार्यान्वयन नगर्न भनेको थियो । सर्वोच्चले अन्सारीको मात्र तर्क सुनेको आधारमा त्रिविको निर्णय रोक्न आदेश दिएको हो।
पूर्वाधार नै नपुगेको काठमाडौं नेसनललाई त्रिवि कार्यकारी परिषदले साउन १२ गते सम्बन्धन दिएको थियो । त्यसपछि डा गोविन्द केसी १२औं अनसन बसेपछि त्रिवि कार्यकारी परिषदले छानबिन गर्दा मापदण्ड नै नपुगेको मेडिकल कलेजले अस्पताल सञ्चालन गरेको पाएपछि सम्बन्धन खारेज गरेको थियो।
तर, सर्वोच्चले उक्त निर्णय तत्कालका लागि कार्यान्वयनमा रोक लगाएको हो।