काठमाडौं- मुटुकाे चाल कम भएर र अचानक मुटु बन्द भएर हुने मृत्युबाट जोगाउने उपचार विधि (पेसमेकर) बनेपास्थित शिर मेमोरियल अस्पतालमा नियमित सुरु हुने भएको छ। अस्पतालले पेसमेकर राख्नका लागि आवश्यक सम्पुर्ण उपकरणहरु जडान गरेसँगै सेवा नियमित हुने भएको हो।
अस्पतालले शुक्रबारबाट नियमित पेसमेकर सेवा सुरु गर्न लागेको हो । सेवा सुरु गरेको अवसरमा अस्पतालमा शल्यक्रियाको शुल्क भने निशुल्क गरिएको जानकारी दिए । तर, शैयाको खर्च भने अस्पतालले लिनेछ ।
अस्पतालमा मुटुको उपचार सेवा दिँदै आइरहेका डा शिवजी बिक्रम सिलवालका अनुसार पेसमेकरसम्बन्धि सबै सेवा शिर मेमोरियलमा हुने भएपछि बिरामीले काठमाडौं आउनु पर्ने बाध्यता हट्ने भएको छ ।
‘यो सेवाको सुरुसँगै मुटुको चालमा गडबडी भएर अचानक हुने मृत्युलाई रोक्न सकिने छ,’ उनले भने, ‘अस्पतालमा सिंगल चेम्बर पेसमेकर र डबल चेम्बर पेसमेकर राख्न आधुनिक उपकरण जडान भएको छ ।’
सामान्यतया मानिसहरुले मुटु धड्किएको सुन्छन् । यसरी मुटु धड्किन मुटुमा करेन्ट बग्नुपर्छ । मुटुमा करेन्ट बगेन भने मानिस बाँच्न सक्दैन । विभिन्न कारणले मुटुमा करेन्ट प्रवाह हुन सकेन भने मुटु बन्द हुन्छ । हृदायाघात भएका बिरामीस्मा यो खतरा झन् बढी हुन्छ । जुनसुकै बेलामा पनि अचानक मुटुमा करेन्ट प्रवाह बन्द भएर मानिसको मृत्यु हुने खतरा रहन्छ । त्यही सम्भावित खतराबाट जोगाउन र मुटुमा आवश्यकता अनुसार करेन्ट प्रवाह गर्न पेसमेकर राख्ने गरिन्छ ।
पेसमेकर धातुको सानो यन्त्र हो जसमा ब्याट्री र विद्युतीय सर्किट हुन्छ र त्यसबाट एउटा विद्युतीय तार निकाली मुटुको कोठासम्म पुर्याउँन संभव बनाइएको हुन्छ । यो धातुको यन्त्र सानो कम्युटर जस्तो हुन्छ जसले मुटुको धड्कन पहिचान र निगरानी गरेको हुन्छ । मुटुको धड्कन कम हुँदा पेसमेकरले तुरुन्त थाहा पाउँछ र पूर्व निर्धारित गरेको गतिमा विद्युतिय करेन्ट निकाल्छ । मुटु सोही अनुरुप धड्कन्छ । आफ्नै मुटुको धड्कन ठिक भएको अवस्थामा पेसमेकर चुप लागेर बस्दछ ।
पेसमेकर दुई प्रकारका हुन्छन् । सिंगल च्याम्बर पेस मेकरमा दाँया अरिकल या भेन्ट्रीकलमा एउटा तार गएको हुन्छ र डबल च्याम्बर पेस मेकरमा दायाँ अरिकल र भेन्ट्रीकलमा एक वटा तार भएको हुन्छ । पेसमेकर राख्न बिरामीलाई बेहोस पार्नु पर्दैन । माथिल्लो छातिको भागमा छाला लाटो पार्ने सुई दिएर करिब दुई इञ्चको घाउ बनाई छालामुनि पेसमेकर ब्याट्री राखिन्छ । पेसमेकर तार हुँदै मुटुको कोठामा लगिन्छ र ब्याट्रीसँग जोडिन्छ ।