काठमाडौं - नयाँ शक्ति पार्टी, नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको छ। पार्टीको प्रतिबद्धतापत्रमा स्वास्थ्यका विषयमा जम्मा ६ वटा बुँदा मात्र उल्लेख गरिएको छ। प्रतिबद्धतापत्रमा स्वास्थ्यका विषयमा कुनै नयाँ कुराहरु छैन । स्वास्थ्यका नियमित कार्यक्रमलाई नै प्रतिबद्धतापत्रमा समावेश गरिएको छ।
नयाँ शक्तिले प्रदेश स्तरबाट विकास गरिने रणनैतिक महत्वका योजनामा स्वास्थ्यको जम्मा एउटा विषय समावेश गरेको छ । जसअन्तर्गत हरेक प्रदेशमा दुई÷दुई ५०० शैयाका ठूला अस्पतालहरुको स्थापना गर्ने योजना मात्र रहेको छ ।
स्वास्थ्य भनेर छुट्टै विषयमा नयाँ शक्तिले निम्न पाँच बुँदा मात्र समावेश गरेको छ ।
यस क्षेत्रमा व्याप्त विकृति विसंगति रोक्न र स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन विशेष निम्न कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिनेछः
१. पाँच वर्षभित्र सबैलाई स्वास्थ्य वीमा कार्यक्रम लागू गरिनेछ ।
२. १५ वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ ।
३. पूर्ण शारीरिक अपाङ्गता भएका, गर्भवती महिला, एकल महिला, द्वन्द पीडित, दलित समुदाय, यौनिक तथा लैंगिक अल्पसंख्यक, गरीबीको रेखामुनिका परिवारका लागि स्वास्थ्य सेवामा ७५ प्रतिशत छुटको व्यवस्था गरिनेछ ।
४. कर्णाली लगायत विकट र दुर्गम क्षेत्रमा समयमा अस्पताल पुग्न नसकेर ज्यान गुमाइ रहनु परेको तथ्यलाई मध्यनजर राख्दै महिला र आपतकालीन विरामीहरुको ओसारपसार गर्नका लागि तत्काल ५ वटा हेलिकोप्टरको व्यवस्था गरिनेछ ।
५. स्वास्थ्य शिक्षा क्षेत्रको विकृति र विसंगति रोक्न कडा कानून निर्माण गरी लागू गरिनेछ ।