काठमाडौं—परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ । अस्पतालले करिब दुई करोड ७० लाखको लागतमा उक्त सिटी स्क्यान मेसिन खरिद गरेको थियो।
अस्पतालका वरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङले पन्ध्र दिनअघिबाट सेवा सुरु गरिएको जानकारी दिए। ‘मेसिन नहुँदा अस्पताल आएका बिरामीलाई सो सेवा लिन धेरै टाढा जानुपर्ने तथा गरिब, असाह्य र विपन्नलाई अन्यन्त्र महँगो पर्ने भएकाले यही सुरु गरेका हौँ,’ उनले भने, ‘यो सेवाबाट आर्थिक अभाव भएका बिरामीका साथै अन्य अस्पतालमा सिटी स्क्यान गर्न समय नपाएका बिरामीलाई पनि सस्तोमा सेवा प्रदान गर्ने लक्ष्य छ ।’
अहिले परीक्षणका रुपमा सञ्चालन गरिहरेका बताउँदै गुरुङले दैनिक पाँच जनासम्मको सिटी स्क्यान भइरहेको बताए। बिरामीले दुई हजार ५ सयदेखि बढीमा ११ हजारसम्ममा यो सेवा प्राप्त गर्न सक्ने अस्पतालले जनाएको छ।
प्रसूतिमा प्रत्येक दिन बहिरङ्गमा कम्तीमा ६ सय बिरामीले सेवा लिने गरेका छन् भने करिब ७० बिरामी भर्ना भई उपचार गराउने अवस्थाका हुन्छन् । अस्पतालमा प्रत्येक दिन ६० बढी शिशुको जन्म हुने गरेको छ ।