एजेन्सी- मानवीय गतिविधिले नै तीव्र गतिमा जलवायु परिवर्तन निम्त्याइरहेको अमेरिकी सरकारी वैज्ञानिकहरुले तयार पारेको अध्ययन प्रतिवेदनले जनाएको छ।
सो अध्ययन प्रतिवेदनको निष्कर्षले प्यारिस सम्झौताबाट बाहिरिने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बेवास्ता गर्दै अमेरिका र विश्वका लागि जलवायु परिवर्तनको भयावह परिणाम हुने उल्लेख गरेको छ। जलवायु परिवर्तनका कुरा चिनियाँ झुट भएको भन्ने राष्ट्रपति ट्रम्पको भनाइसँग पनि प्रतिवेदनको निचोड विपरीत देखिएको छ। 'द क्लाइमेट साइन्स स्पेशल रिपोर्ट' लाई ह्वाइट हाउसले अनुमोदन गरेको भए पनि अध्ययन प्रतिवेदनको निष्कर्ष जलवायु परिवर्तनसम्बन्धी राष्ट्रपति ट्रम्पको धारणासँग मिल्दैन।
तर एउटा वक्तव्यमा ह्वाइट हाउसले भनेको छ, उसले 'सशक्त वैज्ञानिक विश्लेषण र बहसलाई सहयोग गर्दै आएको छ।' पाँच सय पृष्ठको अध्ययन प्रतिवेदनको निष्कर्षमा भनिएको छ, 'यो आधुनिक सभ्यताको इतिहासमै सबैभन्दा बढी गर्मी भएको समय हो।'
खासगरी हरित गृह ग्यास उत्सर्जन जस्ता मानवीय गतिविधि नै जलवायु परिवर्तनको प्रमुख कारण भएको जस्तो देखिएको प्रतिवेदनले जनाएको छ।वैज्ञानिकहरुले भने यो शताब्दीको अन्त्यसम्ममा विश्वव्यापी समुद्री सतह ८ फिट जतिले बढ्ने सम्भावना औंल्याएका छन्। खडेरी र बाढीको जोखिम बढ्ने तथा डढेलो एवं विनाशकारी आँधीहरु प्रायः आइरहने समेत वैज्ञानिकहरुले चेतावनी दिएका छन्।
जलवायु परिवर्तनका कुराहरु झुटा भएको भन्दै राष्ट्रपति ट्रम्पले अमेरिकालाई प्यारिस सम्झौताबाट अलग पारिसकेका छन्। उनको कदमले प्रदूषण फैलाउन उद्योगहरुलाई सहज तुल्याएकोमा धेरैले चिन्ता व्यक्त गरेका छन्।बिबिसी