रुपन्देही– लुम्बिनीका विभिन्न क्षेत्रमा आँखा पाक्ने रोगको प्रकोप फैलँदै गएको छ। सिजनल रुपमा मौसम परिवतर्न हुने बेलामा आँखा पाक्ने रोगको संक्रमण हुने भए पनि समयमा उपचार नगर्ने प्रवृत्तिका कारण आँखामा समस्या आउने गरेको आँखा रोग विशेषज्ञहरुले बताएका छन्।
गर्मी मौसम सुरु हुँदा, वर्षायामका बेला र गर्मी सकिनेबेलामा आँखामा संक्रमण हुने लायन्स आँखा अस्पताल बुटवलका वरिष्ठ नेत्र अधिकृत इन्दिरा जोशीले बताइन्।
आँखा चिलाउने, आँसु बग्ने, आँखामा चिपचिप हुने जस्ता लक्षण आँखा बिरामीहरुमा देखिएको उनले जानकारी दिइन्। भाइरलका रुपमा अहिले आँखामा संक्रमण देखिएकाले सुरुवाती लक्षण देखिनासाथ नेत्र रोग विशेषज्ञबाटै उपचार गराउन डा जोशीको सुझाव छ।
‘अस्पतालमा अन्त उपचार गरेर निको नभएपछि मात्रै आउने चलन छ,’ उनले भनिन्, ‘ढिला गरी उपचारमा आउँदा आँखाको नानीमा घाउ हुन्छ, त्यसले सधैंका लागि दृष्टि गुम्न पनि सक्छ।’
बिरामीले आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्ने बित्तिकै इन्फेक्सन भन्ने अनुमान गरे औषधिपसलबाट औषधी किनेर आफैं लगाउने गर्नाले आँखामा जटिल समस्या आउन सक्नेतर्फ सचेत हुन डा जोशीले सुझाव दिएकी छिन्।
इन्फेक्सन विभिन्न कारणले हुने हुँदा सम्बन्धित अस्पतालमै गएर चेकजाँच गनुपर्ने जोशीले बताइन्। उनका अनुसार अहिले बढी मात्रामा बालबालिकामा यो रोग देखिएको छ। ‘आँखाको भाइरल एउटा परिवारमा देखिए सबैमा सर्न सक्ने भएकाले सरसफाइमा ख्याल गर्नुपर्छ,’ डा जोशी भन्छिन्।
लायन्स आँखा अस्पताल बुटवलको तथ्यांक अनुसार तिहारयता दैनिक ३० देखि ५० जनासम्म बिरामी आखाँ पाक्ने समस्या लिएर आउने गरेका छन्। आँखा अस्पतालमै आएर उपचार गर्नेहरु अझै पनि न्यून रहेकाले आँखा समस्या धेरै देखिएको चिकित्सकहरुले बताएका छन्।
रुपन्देही सहित कपिलवस्तु, नवलपरासीमा आँखा पाक्ने रोगको संक्रमण देखिएको छ।