काठमाडौं– चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले लिएको एमबिबिएसको प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिएको पुष्टि भएको छ।
प्रहरीले प्रश्नपत्र बाहिरिएको भन्दै केही विद्यार्थीले सोही अनुसार चिट चोरेको प्रतिवेदन आइओएममा बुझाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार प्रतिवेदन बुझाएको हो । जसमा प्रश्नपत्र बाहिरिएको पुष्टि गर्दै त्यसमा विभिन्न समूहहरुले चलखेल गरेको उल्लेख छ। प्रहरीले पक्राउ गरेकामध्ये दुई विद्यार्थीले लेखेको उत्तर चिट चोराउने गिरोहले तयार पारेको उत्तरसँग ठ्याक्कै मिलेको छ । प्रहरीले मेडिकल काउन्सिलबाट प्रतिनिधि बोलाएर पक्राउ परेका विद्यार्थीको कपी चेक गरेको थियो।
आइओएमले प्रहरीको प्रतिवेदन पर्खदै प्रवेश परीक्षाको नतिजा रोकेको थियो । विद्यार्थीहरुले प्रश्नपत्र बाहिरिएकाले परीक्षा रद्द गरी प्रवेश परीक्षा फेरि गराउन माग दिँदै आएका छन्।
आईओएमले एमबिबिएसको प्रवेश परीक्षा गत असोज २८ गते लिएको थियो । जसमा करिब ९ हजार विद्यार्थी सहभागी भएका थिए । सोही दिन प्रहरीले चार विद्यार्थीलाई चिट चोर्ने डिभाइससहित पक्राउ गरेको थियो । अर्काको परीक्षा दिइरहेका अन्य चार जना समेत पक्राउ परेका थिए।
प्रहरीले गिरोहका नाइके समिर झासहितको अन्यलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ।
यी हुन् एमबिबिएस विद्यार्थीलाई चिट चोराउने गिरोहका नाइके, यस्तो छ डिभाइस

काठमाडौं- एमबिबिएसको प्रवेश परीक्षामा गोप्य डिभाइस मार्फत चिट चोराउने गिरोहका नाइके हुन् समिरकुमार झा। उनी हाल प्रहरीको नियन्त्रणमा छन्।
गत शनिबार काठमाडौंका १७ वटा क्याम्पसमा परीक्षा चलिरहेको समयमा प्रहरीले इलेक्ट्रोनिक डिभाइस मार्फत चिट चोरिरहेका विद्यार्थीलाई पक्राउ गरेको थियो। विद्यार्थी पक्राउ परे लगत्तै काठमाडौंबाट भागेका झालाई प्रहरीले सिन्धुलीबाट पक्राउ गरेको थियो। प्रहरीले झासहित गिरोहका अन्य तीन जनालाई पनि पक्राउ गरेको थियो।
एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने गिरोहका नाइके झासहित अरुलाई प्रहरीले साइबर अपराध र ठगी मुद्दामा कारबाही अघि बढाएको छ। गिरोहका १० जनालाई साइबर र ठगी मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए। त्यस्तै दुई जनालाई शिक्षा ऐन अन्तर्गत कारबाही अघि बढाइएको छ। विद्यार्थीलाई भने प्रहरीले छाडिदिएको छ।
चिट चोराउने गिरोहमा झासहित शैलेन्द्रकुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय, संजयकुमार यादव, ज्ञानेन्द्र ठाकुर र अजय यादवलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही अघि बढाइएको हो। त्यस्तै, भारतीय नागरिकद्वय सुविश देव र सौभर कुमारलाई शिक्षा ऐनअनुसार कारबाही अघि बढाइएको छ। त्रिवि आइओएममा एमडी अध्ययनरत सुविश वदे अरुकै लागि परीक्षा दिन जाँदा पक्राउ परेका थिए।
संगठित रुपमा नै झाको गिरोहले कानभित्र लुकाइने गोप्य डिभाइस मार्फत चिट चोराएको थियो।
यसरी चोरिन्थ्यो चिट?

प्रहरीका अनुसार उनीहरुले म्याग्नेटिभ साउन्ड स्पिकर प्रविधिबाट चिट चोर्ने गरेका थिए। यसका लागि उनीहरूले टिसर्ट तथा सर्टमा एउटा–एउटा सिमकार्ड डिभाइस राखेका थिए। जसको सानो तार पाखुरासम्म पुर्याइएको थियो। जसको सम्पर्क कानमा नदेखिने गरी राखिएको अर्काे म्याग्नेटिभ डिभाइससँग हुन्थ्यो। शरीरमा राखिएको डिभाइसमा फोनमार्फत सम्पर्क हुने र बाहिर बसेका व्यक्तिले सबै प्रश्नको जवाफ भनिदिने गर्थे। सोहीअनुसार उनीहरूले सबै प्रश्नको जवाफ मिलाउने गरेका थिए।