पोखरा– अस्पताल भर्ना गरेको एक हप्तापछि निधन भएको सुत्केरी महिलाकोे तिनदिनसम्म पनि शव उठ्न सकेको छैन । आइतबार दिनभरी जिल्ला प्रशासन कार्यालय कास्कीमा भएको पिडित पक्ष र अस्पताल प्रशासनको बार्ताले निकास पाएन ।
स्याङ्जा अर्जुनचौपारी १ कि गीता अर्यालयको अपरेशन गरेर छोरा जन्मएपछि निधन भएको हो । अर्यालको निधनपछि मृतकका आफन्तले गरेको विरोधबाट शुक्रबार र शनिबार अस्पताल तनावग्रस्त भएपनि आईतबार भने जिल्ला प्रशासनमा बार्ता हुने भएपछि अस्पताल सुचारु भएको थियो।
कार्तिक ११ गते शुक्रबार गीतालाई प्रसूति व्यथा लागेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुगेकी थिइन् तर त्यहाँ बेड अभाव भएपछि गण्डकी मेडिकल कलेजमा आएको उनका जेठाजु राजन अर्यालले बताए।
पटक–पटक बिरामीको अवस्था बुझ्दा समेत यथार्थ जानकारी नपाएको गुनासो आफन्तको छ । बिरामीलाई उपचारको लागि बाहिर लैजान चाहँदा समेत अस्पतालले वेवास्ता गर्दै भेट्न समेत नदिइएको भन्दै आफन्तले आक्रोस पोखेका छन्। आक्रोशित पिडितले शनिबार दिउसो अस्पताल रहेको पोखरा नयाँबजार सडक बन्द गरी टायर बाल्दै अस्पताल प्रशासन र प्रहरी विरुद्ध नारावाजी गरेका थिए।
कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जिल्ला प्रशासनमा अस्पतालमा दुवै पक्षले वार्ता गरी समस्याको समधान गर्ने भन्दै बाहिरिएको बताए । अधिकारीले पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको पनि जानकारी गराए ।