काठमाडौं- प्रहरीले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने थप दुईजना पक्राउ गरेको छ।
प्रहरीले दिएको जानकारी अनुसार चिट चोरी प्रकरणमा संलग्न रहेको फेला परेपछि डा सुशील मण्डल र कन्सलटेन्सी सञ्चालक अभय मिश्रलाई पक्राउ गरिएको हो । आइओएमबाट एमबिबिएस सकेका डा मण्डल डिभाइसमार्फत प्रवेश परीक्षाको उत्तर तयार पार्ने व्यक्ति रहेको प्रहरी अनुसन्धानमा खुलेको छ।
उनी कुनै पनि अस्पतालमा काम गर्दैनन्। तर, प्रवेश परीक्षामा भने पटक पटक चलखेल गर्दै आएको अनुसन्धानमा खुलेको छ।
प्रहरीले पक्राउ गरेका अर्का व्यक्ति पुतलीसडकस्थित एडुमार्क कन्सलटेन्सीका सञ्चालक हुन् । मिश्रले विद्यार्थीको प्रवेशपत्रमा फोटो परिवर्तन गराउँदै आइरहेका थिए । किर्ते मुद्दामा कारबाही गरेपछि उनलाई डिभाइसमार्फत समेत चिट चोरी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।
आईओएमले एमबिबिएसको प्रवेश परीक्षा गत असोज २८ गते लिएको थियो । जसमा करिब ९ हजार विद्यार्थी सहभागी भएका थिए । सोही दिन प्रहरीले चार विद्यार्थीलाई चिट चोर्ने डिभाइससहित पक्राउ गरेको थियो । अर्काको परीक्षा दिइरहेका अन्य चार जना समेत पक्राउ परेका थिए।
प्रहरीले गिरोहका नाइके समिर झासहितको अन्यलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न अझै केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार प्रश्नपत्र बाहिरिएको भन्दै केही विद्यार्थीले सोही अनुसार चिट चोरेको प्रतिवेदन आइओएममा बुझाएको छ ।
जसमा प्रश्नपत्र बाहिरिएको पुष्टि गर्दै त्यसमा विभिन्न समूहहरुले चलखेल गरेको उल्लेख छ। प्रहरीले पक्राउ गरेकामध्ये दुई विद्यार्थीले लेखेको उत्तर चिट चोराउने गिरोहले तयार पारेको उत्तरसँग ठ्याक्कै मिलेको छ । प्रहरीले मेडिकल काउन्सिलबाट प्रतिनिधि बोलाएर पक्राउ परेका विद्यार्थीको कपी चेक गरेको थियो।
आइओएमले प्रहरीको प्रतिवेदन पर्खदै प्रवेश परीक्षाको नतिजा रोकेको थियो । विद्यार्थीहरुले प्रश्नपत्र बाहिरिएकाले परीक्षा रद्द गरी प्रवेश परीक्षा फेरि गराउन माग दिँदै आएका छन्।