पोखरा– जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले स्थानीय स्वास्थ्य संस्थाहरु गाउँपालिकाहरुलाई हस्तान्तरण गरेको छ।
जिल्ला समन्वय समिति कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका अन्तर्गत रहेका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईहरु स्थानीय तहको जिम्मा लगाइएको हो।
ती स्वास्थ्य संस्थाका चल–अचल सम्पति पनि अब स्थानीय तहको मातहत हुनेछन् । जनस्वास्थ्य कार्यालय कास्कीले यसअघिदेखि नै सबै गाउँपालिकामा स्वास्थ्यका कर्मचारीहरु खटाएर स्वास्थ्य सम्बन्धी योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको थियो।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख जनस्वास्थ्य प्रशासक दिनेशकुमार चापागाईंले आगामी दिनमा कार्यालयले अनुगमन तथा सहयोगात्मक सुपरिवेक्षण, सेवाको गुणस्तर सुधार तथा समन्वयनकारी भूमिका निर्वाह गर्ने बताए । उनले पोखरा लेखनाथ महानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरु पनि छिटै हस्तान्तरण गरिने जानकारी दिए।
कार्यक्रममा मादी गाउँपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद अधिकारीले गाउँपालिकामा स्थानीय तहबाट स्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गर्दा परेका समस्याबारे जानकारी गराएका थिए । यस्तै, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जनस्वास्थ्य कार्यालयले स्वास्थ्य संस्था हस्तान्तरण गरे पनि सहयोग गर्न भने छाड्न नहुनेमा जोड दिए।
जिल्ला समन्यय समितिका प्रमुख वैनबहादुर क्षेत्रीले स्वास्थ्यका कार्यक्रमलाई विकास–निर्माणका काम जसरी अर्को वर्ष गरौंला भनेर थाती राख्न नहुने भएकाले सोही अनुसार स्थानीय तहमा स्वास्थ्यका कार्यक्रमहरुलाई प्राथमिकता दिन सुझाव दिएका थिए।