महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीलाई भेट्न एक जना व्यक्ति पुगे । लोहनी कार्यालयमा थिएनन्, उनले एसपी उमाशंकर पञ्जियारलाई भेट्न खोजे। महाशाखाले अघिल्लो दिनमात्रै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को स्नातक (एमबिबिएस) को प्रवेश परीक्षामा संलग्न विद्यार्थी र गिरोहलाई पक्राउ गरेको थियो । ती व्यक्ति पक्राउ परेकाको आफन्त होलान् र भनसुन गरेर छुटाउन आए होलान् भन्ने एसपी पञ्जियारको अनुमान थियो । तर, उनी सोर्सफोर्स लगाउन होइन, प्रहरीलाई धन्यवाद दिन पुगेका रहेछन् । ‘मेरो छोरीले असाध्यै मेहेनत गरेर पढी तर एमबिबिएसको प्रवेश परीक्षामा नाम निकाल्न चाहिँ किन सकिरहेकी छैन भन्ने बल्ल खुल्यो सर,’ ती व्यक्तिले भने, ‘सायद आगामी परीक्षामा उनको नाम निस्कनेछ ।’
धेरैले अब्बल विद्यार्थीहरु प्रतिस्पर्धाका आधारमा चिकित्सक बन्छन् भन्ने ठान्छन् । सोझो हिसाबले यो बुझाइ सही पनि छ । यस्तो विश्वासमा रहेकाहरुलाई आइओएममा ‘चिट चोरी’को पछिल्लो शृंखलाले फेरि सशंकित बनाएको छ । चिकित्सक जस्तो संवेदनशील पेशाको ‘गेटपास’ नै अवैध हुने गरेको तथ्यले सर्वसाधारणलाई झस्काएको छ ।
हरेक वर्ष करिब १० हजार नेपाली विद्यार्थी चिकित्सक बन्नका लागि प्रतिस्पर्धामा उत्रिन्छन् । त्यसका लागि एक वर्ष मात्रै होइन, वर्षौंदेखि मेहेनत गर्छन् । तर, आर्थिक चलखेलले ढोका खोलिदिने अवैधानिक बाटोबाट अरु कमजोर विद्यार्थी चिकित्सा पढिरहेको पछिल्लो घटनाक्रमले दर्शाएको छ । हरेक वर्ष ‘चिटिङ’देखि ‘सेटिङ’सम्म मिलाएर कमजोर विद्यार्थीले पनि एमबिबिएस प्रवेश परीक्षा पास गर्ने गरेको हल्लालाई यो घटनाले प्रमाणित गरिदिएको छ । ‘विगतका वर्षमा पनि विभिन्न तरिकाबाट एमबिबिएस प्रवेश परीक्षामा संगठित रुपमै चलखेल हुने गरेको रहेछ,’ अपराध महाशाखाका एसएसपी लोहनी भन्छन्, ‘त्यो चलखेल बाहिर आएपछि धेरैले चासो दिएका छन् ।’
ठूलो रकम लेनदेन गरेर नेपालका सबै विश्वविद्यालयका एमबिबिएस प्रवेश परीक्षा पास गराउन गिरोह नै सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यो वर्ष आइओएमले लिएको प्रवेश परीक्षामा ९ हजार ३ सय ६३ जनाले आवेदन दिएका थिए । तीमध्ये परीक्षामा ८ हजार ८ सय २७ जना उपस्थित भएका थिए ।
यसरी पक्राउ परे चिट चोर्नेहरु
गत असोज २८ गते बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय अपराध महाशाखामा एउटै सूचना आयो, ‘एमबिबिएसको प्रवेश परीक्षामा गोप्य डिभाइस मार्फत चिट चोरी हुँदैछ ।’
तीन वटै कार्यालयका प्रहरीहरु सोही सूचनालाई पछ्याउँदै आइओएमका अधिकारीहरुसँग समन्वय गरी बिहानैदेखि परीक्षा केन्द्रमा पुगे । एउटै केन्द्रमा धेरै प्रहरी पुगेपछि सिआइबी र महानगरीय प्रहरी कार्यालयको टोली फर्कियो । अपराध महाशाखाबाट खटिएको प्रहरीले ५ जना विद्यार्थीलाई पक्राउ ग¥यो । किस्ट कलेज, वागमती बोर्डिङ, अरुणिमा स्कुल र नामी कलेजबाट डिभाइसहित चिट चोरिरहेका विद्यार्थीहरु सप्तरीका राहुल झा, मोरङका सक्षम भण्डारी, सप्तरीकी शिखा झा, धनुषाका सञ्जय यादव र महोत्तरीका महेन्द्र ठाकुर र राजिव सिंह पक्राउ परे । यसैगरी, अर्काको परीक्षा दिने र दिन लगाउने ज्ञानेन्द्र ठाकुर र अजय यादवलाई पनि नियन्त्रणमा लिइयो । त्यस्तै, सेनाको मेडिकल कलेजबाट रौतहटका चिन्ताहरण साह पनि सोही दिन पक्राउ परे । उनीहहरु धनुषा घर भएका रमेशकुमार यादवको परीक्षा दिन गएका थिए । एमएससी अध्ययन गरेका साह पैसा लिएर अर्काको परीक्षा दिन गएका थिए ।
चिट चोर्ने विद्यार्थी पक्राउ परेपछि काठमाडौंबाट भाग्दै गरेका गिरोहका नाइकेहरु खोज्न प्रहरी खटियो । गिरोहका नाइके समीरकुमार झासहित शैलेन्द्रकुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय, सञ्जयकुमार यादव, भारतीय नागरिकद्वय सुविशदेव र सौभरकुमारलाई पक्राउ गर्न प्रहरी सफल भयो ।
प्रहरीले केही दिनपछि यो प्रकरणमा संलग्न डा सुशील मण्डल र कन्सलटेन्सी सञ्चालक अभय मिश्रलाई पक्राउ गर्न सफल भयो । आइओएमबाट एमबिबिएस सकेका डा मण्डल डिभाइसमार्फत प्रवेश परीक्षाको उत्तर तयार पार्ने व्यक्ति रहेको प्रहरी अनुसन्धानमा खुलेको छ।
उनी कुनै पनि अस्पतालमा काम नगरी प्रवेश परीक्षामा भने चलखेल गर्दै आएको प्रहरी अनुसन्धानमा देखिएको छ । प्रहरीले पक्राउ गरेका अर्का व्यक्ति पुतलीसडकस्थित एडुमार्क कन्सलटेन्सीका सञ्चालक हुन् । मिश्रले विद्यार्थीको प्रवेशपत्रमा फोटो परिवर्तन गराउँदै आइरहेका थिए । किर्ते मुद्दामा कारबाही गरेपछि उनलाई डिभाइसमार्फत समेत चिट चोरी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । गिरोहका नाइके झासहित पक्राउ परेकालाई विद्युतीय कारोबार ऐन र ठगी मुद्दामा कारबाही अघि बढाइएको छ ।
सरकारी वकिलबाट उल्टियो प्रहरीको निर्णय
पक्राउ परेका पाँच जना विद्यार्थीलाई प्रहरीले एक दिन थुनेर छाडिदिएको थियो । उनीहरुलाई पीडित बनाई जाहेरी दिन लगाइएको थियो । तर, जब फाइल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हे¥यो, प्रहरीको निर्णय उल्टियो । सरकारी वकिलले चिट चोरी गर्ने विद्यार्थीलाई समेत थुन्न पत्राचार ग¥यो । सोही पत्रका आधारमा डिभाइस मार्फत चिट चोर्ने विद्यार्थीहरु समेत प्रहरी हिरासतमा पुगेका छन्।
एसपीका छोरा फरार
डिभाइस मार्फत चिट चोरी गर्नेमध्येका एक सक्षमराज भण्डारी प्रहरीकै एसपी सुदीपराज भण्डारीका छोरा हुन् । तारेखमा छुटेका उनी भने फरार छन् । अन्य विद्यार्थीलाई प्रहरीले तारेखमा बोलाउने क्रममा थुनामा राखेको थियो । तर, सक्षमराजलाई प्रहरीले नै उन्मुक्ति दिएको बताइन्छ । एसपी भण्डारी र काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुक एउटै ब्याचका भएकाले सक्षमलाई भगाइएको बताइएको छ ।
प्रहरीले सुरुमा पक्राउ परेकाहरु विरुद्ध संगठित अपराध मुद्दा समेत चलाउने तयारी गरेको थियो । तर, सरकारी वकिल कार्यालयले विद्यार्थीलाई पनि अभियुक्त बनाउने निर्णय गरेपछि प्रहरीले पक्राउ परेका विद्यार्थी विरुद्ध ठगी र संगठित अपराध मुद्दा मात्र चलाउने भएको छ ।
वैशाखमै खुलेको थियो रहस्य
यस्तै प्रविधि मार्फत चिट चोरी गर्नेहरु गत ९ वैशाखमा पनि पक्राउ परेका थिए । एमडी÷एमएस तहको प्रवेश परीक्षामा ब्लुटुथबाट चिट चोरिरहेका चिकित्सकद्वय अभिषेक आचार्य र मनसा भोहरालाई प्रहरीले पक्राउ गरेको थियो । भोहरा महाराजगञ्जस्थित त्रिवि 4 कलेजबाट र आचार्य कमलपोखरीस्थित किस्ट कलेलबाट पक्राउ परेका थिए । त्यतिबेला दुवै जना सोर्सफोर्सका आधारमा छुटेका थिए । सिआइबीले उनीहरुलाई पक्राउ गरेसँगै अरु पनि तानिने भएपछि दबाबकै भरमा विस्तृत अनुसन्धान अघि नबढाई छाडेको स्रोतले बतायो। उक्त घटनामा पनि शनिबार पक्राउ परेका गिरोहका नाइके समीरकुमार झाकै संलग्नता रहेको आशंका प्रहरीको छ ।
पुरानै गिरोह
चिट चोर्ने तरिका नयाँ भए पनि पक्राउ परेकाहरु मेडिकल शिक्षामा लामो समयदेखि चलखेल गर्दै आएका व्यक्तिहरु हुन् । गिरोहका नाइके समीरकुमार झा दुई वर्षअघि एमबिएिसकै प्रश्नपत्र बिक्री गर्दैगर्दा पक्राउ परेका डा. प्रभातकुमार कुशवाहको गिरोहमा आबद्ध थिए । कुशवाहका सहयोगी उनले अहिले नयाँ प्रविधिमार्फत प्रवेश परीक्षामा चिट चोराएको प्रहरीले जनाएको छ ।
विराटनगरमा मेडिकल ल्याबका सामानको कारोबार गर्ने झा लामो समयदेखि एमबिबिएस भर्नामा चलखेल गर्दै आएका व्यक्ति भएको प्रहरीले जनाएको छ । उनको सबैजसो मेडिकल कलेजका सञ्चालकहरुसँग राम्रो सम्बन्ध छ । १९ असोज २०७१ मा डा कुशवाहको गिरोहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । सोही समूहका केही व्यक्तिले भारतबाट ‘म्याग्नेटिक साउन्ड स्पिकर’ खरिद गरी ल्याएका थिए । सिमकार्ड हाल्न मिल्ने र पहिलो रिङमै आफैं फोन उठ्ने प्रविधिमार्फत चिट चोराएका थिए ।
पक्राउ परेका शैलेन्द्रकुमार झा बुद्धनगरमा रहेको रेसनल एजुकेसन कन्सलटेन्सीका सञ्चालक हुन् । उनले नै डिभाइस मार्फत चिट चोर्ने केही विद्यार्थी खोजेका थिए । उनी समीरकुमार झाका आफन्त समेत हुन् । पक्राउ परेका गिरोहका अन्य व्यक्ति पनि कोही समीरका आफन्त, कोही सहयोगी र केही विद्यार्थी र उनीबीचका मध्यस्कर्ता हुन् ।
पाँच जना भारतीय विद्यार्थी फरार
प्रहरीले परीक्षा स्थलबाट १० वटा डिभाइस बरामद गरेको छ । तर, त्योभन्दा धेरै डिभाइस प्रयोग भएको हुन सक्ने एसएसपी लोहनी बताउँछन् । समीरकै वयानका आधारमा आइओएमकै होस्टलबाट समेत एउटा डिभाइस बरामद भएको छ । तर, त्यो कसले प्रयोग गरेको थियो भन्ने खुलेको छैन । आइओएममा एमबिबिएस अध्ययनरत केही विद्यार्थी समेत छानबिनको दायरामा परेको सिआइबी स्रोतले बतायो । आएओएमका सञ्जय रौनियारसहितका केही विद्यार्थी फरार छन् ।
अनुसन्धानका क्रममा पाँच भारतीय विद्यार्थीले डिभाइस मार्फत चिट चोरी गरेको पुष्टि भएको छ । तर, उनीहरु भाग्न सफल भए । आइओएमले सबै विदेशी विद्यार्थीलाई एउटै केन्द्र महाराजगञ्ज 4 क्याम्पसमा राखेको थियो । विदेशी विद्यार्थी ३ सय १ जनाले परीक्षाका लागि प्रवेश पत्र लिएका थिए । तर, परीक्षामा २ सय ९४ जना उपस्थित भए । परीक्षा हलमा प्रवेश गर्नुअघि कडा जाँच भएका कारण सात जना विद्यार्थी परीक्षा हलअघि पुगेर भागेको हुन सक्ने प्रहरीको अनुमान छ ।
उनीहरुको कपी अनुसन्धान भइरहेको एसएसपी लोहनीले बताए । प्रहरीले मेडिकल काउन्सिललाई शंकास्पद विद्यार्थी सबैको कपी चेक गर्न विशेषज्ञ पठाउन पत्राचार गरेको छ ।
एक जनासँग २० लाखसम्म असुली
गिरोहले भारतीय विद्यार्थीलाई लक्षित गरी चिट चोरीको प्रस्ताव गरेको थियो । ह्वाट्स एप मार्फत विद्यार्थीहरुसम्म चिट चोराउनेबारे सूचना पु¥याइएको थियो । एकजना भारतीय विद्यार्थीसँग १२ लाख भारुसम्मको ‘डिल’ गरेको भेटिएको एसएसपी लोहनी बताउँछन् । नेपाली विद्यार्थीहरुसँग भने ५ लाख रुपैयाँ लिइएको थियो ।
कसरी बाहिरियो प्रश्नपत्र ?
दुई साता लामो अनुसन्धानमा पनि प्रहरीले गिरोहको हातमा प्रश्नपत्र कसरी पुग्यो भन्ने खुलाउन सकेको छैन । परीक्षा चलिरहेकै बेला सो समूहले प्रश्नपत्र पाउनुमा आइओएमकै अधिकारीको संलग्नता हुन सक्ने आशंका गरिएको छ । परीक्षा केन्द्रका व्यक्तिहरुले पनि बदमासी गरेको हुन सक्ने एसएसपी लोहनी बताउँछन् ।
प्रवेश परीक्षाको प्रश्नपत्र सबै वस्तुगत हुन्छन् । परीक्षाबाट निस्किएपछि उनीहरुले प्रश्नपत्र लैजान पाउँदैनन् । कसैको मिलेमतोबिना उनीहरुका हातमा प्रश्न पुग्न नसक्ने प्रहरीको ठहर छ । ‘आइओएमले कडाइका साथ ‘बडी सर्च’ गरेको बताएको छ, तर विद्यार्थीहरु उक्त डिभाइस परीक्षा केन्द्रमा लैजान कसरी सफल भए ? हामी यो प्रश्नको उत्तर खोजिरहेका छौं,’ एसएसपी लोहनी भन्छन् ।
आइओएमको पुरानै रोग
सन् २००६ मा आइओएमकै एमडी÷एमएस (स्नातकोत्तर तह) को प्रवेश परीक्षाको प्रश्नपत्र आइओएमका तत्कालीन डिन डा अरुण सायमी, सहायक डिन डा रतिन्द्र श्रेष्ठ लगायत पदाधिकारीले बेचेको आरोप तत्कालीन क्याम्पस प्रमुख डा रामप्रसाद उप्रेतीले लगाए । डा उप्रेतीले प्रमाणसहित यो तथ्य सार्वजनिक गरेपछि परीक्षा हुने दिन २०६६ फागुन २९ देखि आइओएमका विद्यार्थी र चिकित्सक आन्दोलनमा ओर्लिए । यसले प्रवेश परीक्षा स्थगित मात्र भएन, १९ दिनसम्म टिचिङ अस्पतालको सेवा नै बन्द भयो । सरकारले घटना छानबिन गर्न पूर्व शिक्षासचिव जयराम गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
प्रवेश परीक्षा पास गराउन ‘क्याम्पसका डिन, क्याम्पस प्रमुख लगायतले ठूलो रकम लिने गरेको’ भन्ने उजुरीमा छानबिन समितिले ‘सत्यता पुष्टि हुन्छ’ भनेको छ । त्यो समस्या तत्काल सुधार गर्न समितिले सुझायो । समितिकै प्रतिवेदनका आधारमा शिक्षा मन्त्रालयले दोषीमाथि कारबाही र परीक्षा प्रणाली सुधार गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दियो ।
यसैगरी, १०० अंकको अन्तर्वार्ता परीक्षामा विभागीय प्रमुखले १५ अंक मात्र र विषयसँग असम्बन्धित पदाधिकारीले ८५ अंक दिने व्यवस्थालाई पनि सुधार गर्न छानबिन समितिले सुझाएको थियो । त्यसैगरी, परीक्षामा गोप्यताका नाममा अपारदर्शी क्रियाकलाप हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
आइओएमको नेतृत्व गर्न पुगेका कसैले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न चाहेनन् । जसले गर्दा आइओएम प्रवेश परीक्षामा हुने अवैध क्रियाकलापको दलदलबाट अझैसम्म माथि उठ्न सकेको छैन ।
पुनः प्रवेश परीक्षाको माग
प्रश्नपत्र बाहिरिएको र डिभाइसबाट चिट चोरेको पुष्टि भइसकेको छ । प्रवेश परीक्षाको नतिजा रोकिएको छ । सोही परीक्षालाई आधार बनाएर नतिजा प्रकाशन गर्ने वा फेरि प्रवेश परीक्षा लिने ? भन्ने विषयको टुंगोमा आइओएम पुग्न सकेको छैन । आइओएमका डिन डा जगदीशप्रसाद अग्रवाल त्रिभुवन विश्वविद्यालयले छानबिन समिति बनाएकाले सोही समितिको सुझावका आधारमा अघि बढ्ने बताउँछन् ।
प्रवेश परीक्षामा संलग्न केही विद्यार्थीले भने पुनः परीक्षाको माग गरेका छन् । चिटिङ भएको प्रमाणित भइसकेकाले उक्त परीक्षा विश्वसनीय नभएको उनीहरुको दाबी छ । पुनः परीक्षा गराउनुपर्ने परीक्षार्थीको मागमा चिकित्सा विद्यार्थीका विभिन्न संगठन र डाक्टरहरुका केही संगठनले सहमति जनाएका छन् ।
आईओएमले एमबिबिएसको प्रवेश परीक्षा गत असोज २८ गते लिएको थियो । जसमा करिब ९ हजार विद्यार्थी सहभागी भएका थिए । सोही दिन प्रहरीले चार विद्यार्थीलाई चिट चोर्ने डिभाइससहित पक्राउ गरेको थियो । अर्काको परीक्षा दिइरहेका अन्य चार जना समेत पक्राउ परेका थिए।
किन हुँदैछ निर्णयमा ढिलाई ?
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले लिएको एमबिबिएसको प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिएको पुष्टि भइसकेको छ।
प्रहरीले प्रश्नपत्र बाहिरिएको भन्दै केही विद्यार्थीले सोही अनुसार चिट चोरेको प्रतिवेदन आइओएममा बुझाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार यस्तो प्रतिवेदन बुझाएको हो । जसमा प्रश्नपत्र बाहिरिएको पुष्टि गर्दै त्यसमा विभिन्न समूहहरुले चलखेल गरेको उल्लेख छ। प्रहरीले पक्राउ गरेकामध्ये दुई विद्यार्थीले लेखेको उत्तर चिट चोराउने गिरोहले तयार पारेको उत्तरसँग ठ्याक्कै मिलेको छ । प्रहरीले मेडिकल काउन्सिलबाट प्रतिनिधि बोलाएर पक्राउ परेका विद्यार्थीको कपी चेक गरेको थियो।
आइओएमले प्रहरीको प्रतिवेदन पर्खदै प्रवेश परीक्षाको नतिजा रोकेको थियो। तर, अझै निर्णयमा पुग्न भने सकेको छैन । आईओएम त्रिविले छुट्टै छानविन समिति बनाएको भनेर पन्छिरहेको छ ।
त्रिवि र आईओएमका केही अधिकारीहरुले चिकित्सा पढ्न विदेश पठाउने कन्सल्ट्यान्सीको प्रभावमा जानाजान निर्णयमा ढिलाइ गरिरहेको विद्यार्थीहरुले बुझेका छन् । आईओएममा जाँच दिएका विद्यार्थीहरुलाई यस्ता कन्सल्ट्यान्सीले सम्पर्क गरेर ‘भविष्य बर्बाद नगर्न’ धम्कीपूर्ण सुझाव दिइरहेको एक विद्यार्थीले बताए ।
यसैगरी गुपचुपमा काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने त्रिवि पदाधिकारी यसका लागि पनि ‘पर्ख र हेर’मा छन् । शिक्षा मन्त्रालय मार्फत् सम्बन्धन दिने निर्णय अनुसार ‘यथाशिघ्र’ कारबाही थाल्न दबाब दिइएको छ । यसमा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ लगायतको पनि संलग्नता देखिन्छ । सामान्यतया त्रिविले सिट निर्धारण गरेर नेपाल मेडिकल काउन्सिललाई पठाउनुपर्छ । काउन्सिलले पनि आफैं अनुगमन गरेर सिट तोक्ने परिपाटी छ । यस वर्षका लागि काउन्सिलले यो कार्य टुंग्याइसकेको छ । त्यसकारण मन्त्रालय स्तरबाटै सर्वाेच्च अदालतको अन्तरिम आदेश कार्यान्वयनको बहानामा दबाब दिइएको बुझिएको छ ।
यही बिचमा नेशनलले विद्यार्थी भर्ना लिन सक्यो भने विद्यार्थीको भविष्यका लागि सम्बन्धन सदर गर्न नियमनकारी निकाय बाध्य हुनुपर्छ । काठमाडौंमा थप मेडिकल कलेज खुल्न नहुने पक्षमा लागिरहेका चिकित्सा शिक्षा सुधारका अभियन्तामा पनि नैतिक संकट आइपर्छ ।