काठमाडौं- सरकारले अध्यादेशमार्फत जारी गर्न राष्ट्रपति कार्यालय पठाएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबारे सूचना लिन डा गोविन्द केसी लगायतले निवेदन दर्ता गराएका छन्।
मन्त्रिपरिषदबाट पारित भएको विधेयक पारित वा फिर्ता सम्बन्धनमा कुनै पनि जानकारी प्राप्त नभएपछि केसीसहित अधिवक्ता ओमप्रकाश अर्याल, तोसिमा कार्की, अभिशेषकराज सिंह र कलाकार रविन्द्रसिंह बानियाँले सूचनाको निवेदन दर्ता गराएका हुन्।
सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार उक्त विधेयक जारी नहुनुका कारण लिखित रुपमा माग गरिएको छ। राष्ट्रपतिलाई सम्बोधन गर्दै लेखिएको निवेदनमा विधेयक रोकिएको मौकाको फाइदा उठाई मेडिकल माफियालाई सहयोग पुगेकाले सूचना दिनुपर्ने माग गरिएको छ।
नेपालको संविधानको धारा २७ मा प्रत्येक व्यक्तिले सूचना माग्ने र पाउने हक हुने उल्लेख छ। संविधानको उक्त व्यवस्था अनुसार किन विधेयक जारी नभएको भन्ने विषयमा आफ्नो अध्ययन र नेपालीको चासोको विषय भएको निवेदनमा जिकिर गरिएको छ। निवेदनमा यति लामो समयसम्म विधेयक रोकिनुको कारण र स्रोतको समेत जानकारी दिन माग गरिएको छ। अध्यादेश रोकिएको अवस्थाको परिणाम स्वरुप सिर्जित समस्याको जिम्मेवार को हो भनी निवेदनमा माग गरिएको छ।
सूचनाको हक सम्बन्धी ऐन अनुसार दर्ता भएको उक्त निवेदनमा राष्ट्रपति कार्यालयले ढिलोमा १५ दिनभित्र जवाफ दिनुपर्नेछ। जवाफ नदिएमा सूचना नदिएको आरोपमा राष्ट्रिय सूचना आयोगले कारबाही गर्न सक्ने व्यवस्था ऐनमा छ।