काठमाडौं- डा गोविन्द केसीसहित चार जनाले शिक्षा मन्त्रालयसँग काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन प्रकरण सम्बन्धी ६ वटा विषयका सूचना माग गरेका छन्।
डा केसी, अघिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेक राज सिंह र विनोद अर्यालले आज सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार ६ वटा विषयका सूचना माग गरेका हुन् ।
उनीहरुले आज शिक्षा मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै मन्त्रालयमा निवेदन दिएका छन् ।
निवेदन अनुसार उनीहरुले काठमाडौं नेसनल सम्बन्धनका विषयमा निम्न विषयमा सूचना माग गरेका छन् :
१. सम्बन्धन दिने सम्बन्धमा शिक्षा मन्त्रालयले नेपाल मेडिकल काउन्सिललाई लेखेको पत्र ।
२. सो कलेजको सम्बन्धमा भएको सर्वोच्च अदालतको आदेश ।
३. कलेजको मुद्दा र सो सम्बन्धी मन्त्रालयमा भएका कागजातहरु ।
४. कलेजको मुद्दाका सम्बन्धमा मन्त्रालयले दायर गरेको निवेदन, लिखित जवाफ तथा सो सम्बन्धी कागजातहरु ।
५. यस सम्बन्धमा मन्त्रालयबाट भएको टिप्पणी, आदेश तथा सो सम्बन्धी फाइलमा भएका सम्पूर्ण कागजातहरु ।
६. यो प्रकरण सम्बन्धी निर्णय प्रक्रियामा संलग्न अधिकारीहरुको नाम, पद तथा जिम्मेवारीको जानकारी ।
