योग अभ्यासबाट पक्षाघात (प्यारालाइसिस) रोग पूर्णरुपमा निको भएपछि रामपुरका दामोदर भण्डारी अहिले योग प्रशिक्षक केन्द्र बनाउन रातदिन जुटिरहेका छन्।
भण्डारी आजभन्दा चार वर्ष अघि एक्कासि प्यारालाइसिस रोगबाट ग्रसित बनेका थिए। उपचारका लागि नेपालका ठूलाठूला अस्पतालमा पुगे । उपचारमा २० लाखभन्दा बढी रकम खर्च भयो तर उनको रोग निको भएन ।
औषधिउपचारबाट निको नभएपछि उनी अन्ततः हरिद्वार पुगी योग अभ्यास गर्दै जाँदा उनको प्यारालाइसिस अहिले पूर्णरुपमा निको भएको छ । योग अभ्यासबाट नयाँ जीवन पाएका भण्डारी अहिले जन्मथलो रामपुरमा नै आएर अरुलाई पनि योग शिक्षक बनेर सिकाइरहेका छन्।
‘प्यारालाइसिसले छट्पटाएर उपचारका लागि धेरै अस्पताल पुगेँ, २० लाखभन्दा बढी रकम खर्च भयो तर रोग भने निको हुन सकेन’ उनले भने, ‘सास रहुञ्जेल आश रहन्छ भनेझै एकपटक हरिद्वारमा गएर योग अभ्यास गर्ने संकल्प गरेर त्यहाँ नियमित योग अभ्यास गरेपछि अहिले पूरै निको भएको छ ।’
रामपुर–५ का पूर्व सैनिक जीतबहादुर प्यारालाइसिस रोगबाट ग्रसित बनेका थिए। अहिले योग अभ्यासले सामान्य जीवनमा फर्किएका छन्।
प्यारालाइसिसबाट शरीर नचल्ने समस्याले निकै समस्या भोग्दै आएका रामपुर नगरपालिका–३ का पूर्वप्रहरी सीताम्बर अर्याल पनि योग अभ्यासबाटै सामान्य जीवनमा फर्किएको बताउँछन्। ‘नियमित योग अभ्यास गरेपछि हिँड्डुल गर्न, सामान्य काम गर्नसक्ने भएको छु, मैले योग अभ्यासकै कारण नयाँ जीवन पाएको छु’ उनले भने।
योग अभ्यासले शरीरलाई स्वस्थ र फुर्तिलो मात्र नभई प्यारालाइसिसजस्ता रोगलाई निको बनाउँछ भन्ने कुरामा पहिले पहिले विश्वास नगर्ने व्यक्ति पनि अहिले सत्य सावित हुँदै गएपछि योग अभ्यासमा सहभागी बनेका छन्।
पतञ्जली योग समिति रामपुरले बिहान ५ बजेदेखि ७ बजेसम्म दैनिक दुईदेखि तीन घण्टासम्म नियमित योग अभ्यास गराउँदै आएको अध्यक्ष ओमप्रकाश रेग्मीले बताए। रोगीको संख्या बढ्दै गएकाले जनचेतना जगाउँदै नियमित योग अभ्यासबाट रामपुरवासीलाई स्वस्थ्य बनाउन योग प्रशिक्षक शिक्षक उत्पादनमा लागेको अध्यक्ष रेग्मीले बताए।
गत भदौ २१ गतेदेखि शुरु गरेको योग अभ्यासमा १०० जना महिला, पुरुष तथा बालबालिकालाई योग शिक्षकको अभ्यास गराउँदै आएको सूर्यप्रसाद श्रेष्ठले बताए।
योग अभ्यासमा १० देखि १४ वर्ष उमेर सम्ूहका बालबालिका पनि आबद्ध छन् । दिनहुँ योग अभ्यास गरियो भने शरीर फुर्तिलो र जाँगरिलो बन्ने मात्र नभई पढाइमा पनि पहिलाभन्दा रुची बढ्दै गएको १४ बर्षीया विद्यार्थी आरती आचार्यले बताए।
तीन महिनाको अभ्यासपछि रामपुर नगरपालिकाका १० वटै वडामा नियमित योग अभ्यास सञ्चालन गर्ने समितिका उपाध्यक्ष कमलप्रसाद आचार्यले बताए। योग अभ्यासमा नियमित आउने व्यक्तिको मोटोपन, ढाड कम्मर दुख्ने, पिनास, कसैलाई अत्यधिक टाउको दुख्ने माइग्रेन समस्या हट्दै गएपछि अहिले धेरैको आकर्षण पनि बढ्दै गएको छ।
योग अभ्यासका कारण नियमितरुपमा ४ बजे बिहान उठ्ने बानी परेको छ, बिहान २ घण्टाको योगले दिनभरि नै शरीर फुर्तिलो जोशिलो, तनाव बिनाको मन हुने भएकाले अन्य व्यक्तिलाई पनि सिकाउन श्रीमान श्रीमती दुवैजना योग शिक्षकको अभ्यासमा नियमित सहभागी भएको नारायण पाठकले बताए। रासस