काठमाडौं- सुत्केरी भएको २७ दिनसम्म विशेष ध्यान दिनुपर्ने भए पनि काठमाडौंमै धेरै सुत्केरीहरुले स्वास्थ्य संस्थामा गएर जाँच नगराएको पाइएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको आर्थिक वर्ष ०७३/७४ को तथ्यांक हेर्ने हो भने ८३ प्रतिशत सुत्केरीहरु जाँचका लागि स्वास्थ्य संस्थामा आएनन्। सुत्केरी भएको २४ घन्टा, ३ दिन र २७ दिनमा आमा र बच्चा स्वास्थ्य जाँचका लागि चिकित्सककहाँ जानु अनिवार्य मानिन्छ।
सबैभन्दा धेरै स्वास्थ्य सुविधा, दक्ष प्रसूतिकर्मी उपलब्ध भए पनि काठमाडौंकै १७ प्रतिशत सुत्केरी मात्र जाँचका लागि चिकित्सककहाँ पुगेको जनस्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ। यद्यपि यो संख्या आर्थिक वर्ष ०७१/७२ र ०७२/७३ को भन्दा १० प्रतिशतले बढी हो।
जनस्वास्थ्य कार्यालय काठमाडौंका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेले सुत्केरीपछि तीन पटकसम्म जाँच नगराउँदा अत्यधिक रक्तश्राव, ज्वरो आउने, शीतांग हुने लगायत समस्या हुँदा आमा र शिशुको मृत्यु हुने खतरा बढी हुन्छ।
गर्भ रहेपछि जुनसुकै समयमा जाँच गराउन आउनेहरु १३७ प्रतिशत भए पनि दक्ष प्रसूतिकर्मीबाट सुत्केरी सेवा लिने भने ७८ दशमलब ४ प्रतिशत मात्र छन्।
जनस्वास्थ्यकै तथ्यांक अनुसार, अझै पनि २१ दशमलब ५ प्रतिशत गर्भवती घरमै सुत्केरी हुन्छन्। स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने पनि ७८ दशमलब ५ प्रतिशत मात्र रहेको जनस्वास्थ्यले जनाएको छ।
यो तथ्यांक आमा सुरक्षा कार्याक्रम लागू भएका सूचीकृत अस्पतालहरुले बुझाएको रिपोर्टका आधारमा जनस्वास्थ्य कार्यालयले तयार पारेको हो।