रुपन्देही– बुटवलमा डेँगुका बिरामीहरु बढेसँगै डेँगुको संक्रमण विरुद्ध अभियान सञ्चालन गरिएको छ।
रुपन्देहीका विभिन्न अस्पतालमा कार्यरत १२ जना डाक्टर तथा स्वस्थ्यकर्मीमा समेत डेँगुको संक्रमण भेटिएको छ।
अञ्चल अस्पताल बुटवलका मेडिकल रेर्कड अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार यस वर्ष हालसम्म ५ सय ५० जनामा डेँगु संक्रमण पाइएको छ। डेँगु प्रकोपका रुपमा फैलिएपछि लामखुट्टे नियन्त्रण अभियानलाई तिव्रता दिइएको रेग्मीले बताए। उनले भने, ‘बिहीबारदेखि अस्पतालमा औषधि छिट्ने काम थालिएको छ भने टोलटोलमा डेँगु सार्ने लामखुट्टे नष्ट गर्ने अभियान पनि थालिएको छ।’
रेग्मीका अनुसार संक्रमितहरु विभिन्न जिल्लाबाट अस्पतालमा आए पनि ८० प्रतिशत रुपन्देहीका छन्। त्यसमध्ये पनि ७५ प्रतिशत संक्रमित बुटवलकै रहेको उनले बताए। बुटवलबाट गत मंगलवार ३७ वटा नमूना परीक्षणका लागि केन्द्रीय जनस्वस्थ्य प्रयोगशालामा पठाइएको थियो।
पछिल्ला दिनमा डेँगुको संक्रमण बढेपछि केही दिनअघि जनस्वाथ्यको केन्द्रीय टोलीले बुटवलमा अध्ययन थालेको छ। यसैक्रममा लुम्बिनी अञ्चल अस्पतालमा बुधवार स्वास्थ्य मन्त्रालयको टोलीसमेत आएको थियो। स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीसहितको टोलीले अस्पतालमा डेँगुको संक्रमण नियन्त्रणबारे छलफल गरेको थियो। डा रेग्मीले डेँगुको प्रकोप नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताएकी थिइन्।
यस्तै, चिकित्सा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठले बुटवल क्षेत्रमा फैलिएको डेँगु नियन्त्रणका लागि जनता पनि आफैं सचेत हुनुपर्ने बताए।

डेँगुको प्रकोप बढेपछि स्थानीय तहमा डेँगु नियन्त्रणलाई प्रभावकारी बनाउन प्रकोप व्यवस्थापन समितिले पनि सक्रियता बढाएको छ। समितिले डेँगु नियन्त्रणका लागि जथाभावी फ्यालिएका टायरहरु बढी चुनौतीका रुपमा पाइएको भन्दै टायर व्यवस्थापनमा जोड दिएको छ।