काठमाडौं– शिक्षा मन्त्रालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन कार्यान्वयन गराउन नेपाल मेडिकल काउल्सिलमा पठाएको पत्र फिर्ता मागेको छ । शुक्रवार काउन्सिललाई पत्र पठाउँदै उक्त पत्र अनुसार कारबाही अघि बढाउनु नपर्ने भन्दै फिर्ता मगाएको हो।
मन्त्रालयले अन्तरिम आदेश खारेजीका लागि सर्वाेच्च अदालतमा भ्याकेट सम्बन्धि निवेदन हालेकाले फिर्ता गर्न अनुरोध गरेको छ । यसअघि शिक्षा मन्त्रालयले सम्बन्धनलाई कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले पत्र पठाएको थियो । स्वास्थ्यखबर डटकममा उक्त समाचार प्रकाशित भएपछि यसको चौतर्फी विरोध भएको थियो । मन्त्रालयले उक्त निर्णय सच्याउँदै खारेजीको माग गरेको हो।
सम्बन्धनका लागि आवश्यक पूर्वाधार र प्रक्रिया पूरा नगरेको नेशनल मेडिकल कलेजलाई त्रिवि कार्यकारी परिषदले गुपचुपमा सम्बन्धन दिएको थियो । सो निर्णय सार्वजनिक भएपछि विरोध भएको थियो । घट्टेकुलोस्थित प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेजको शिक्षण अस्पताल स्वास्थ्य मन्त्रालयमा स्विकृत छैन । नियमअनुसार अस्पताल सञ्चालका लागि अनिवार्य रुपमा ‘स्वास्थ्य संस्था स्थपना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्दे्शिका, २०७३ (दोस्रो संशोधन)’ अनुसार स्विकृत लिनुपर्ने हुन्छ । मन्त्रालयका अनुसार काठमाडौं नेसनलले अहिलेसम्म सञ्चालन स्विकृती लिएको छैन।
त्यसपछि त्रिवि कार्यकारी परिषद् निर्णयबाट पछि हटेको थियो । सम्बन्धन स्थगित गर्ने उक्त निर्णय विरुद्ध नेशनल मेडिकल कलेजका सञ्चालक डा जैनउद्दीन अन्सारीले सर्वाेच्चमा रिट दायर गरेका थिए।
न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
