काठमाडौं- स्वास्थ्य मन्त्रालयसँग स्वीकृति नै नलिई अवैध रुपमा सञ्चालित घट्टेकुलोस्थित विवादित काठमाडौं नेशनल मेडिकल कलेजको शिक्षण अस्पतालमा नेपाल मेडिकल काउन्सिलका सदस्य डा अंकुर साह कागजपत्र मिलाइरहेको अवस्थामा फेला परे।
चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको टोलीले कलेज सञ्चालकको कार्यकक्षमा काउन्सिल सदस्य डा साहलाई कागजपत्र मिलाइरहेको अवस्थामा रङ्गेहात फेला पारेपछि गरेको सवाल जवाफ र वयान यस्तो छ।
प्राडा उपेन्द्र देवकोटाः उहाँ को हो?
डा जैनुद्दिन अन्सारीः मेडिकल काउन्सिलबाट आएर हाम्रो कागजात हेर्दै हुनुहुन्छ।
देवकोटाः अफिसियल्ली हो?
अन्सारीः अफिसियल्ली होइन, यहीँ पर बस्ने भएकाले आएर हेर्नु भएको हो।
शुक्रबार आयोग कार्यालयमा डा साहसँग सोधपुछ
आयोगः सोही कलेजको विवाद सम्बन्धमा शिक्षा मन्त्रालयले सर्वोच्च अदालतबाट जारी भएको सम्बन्धन यथास्थितिमा राख्नू भन्ने अन्तरिम आदेशपछि सिट निर्धारण गर्न नेपाल मेडिकल काउन्सिललाई लेखेकोमा यो विवादको अवस्थामा तपाईं नेपाल मेडिकल काउन्सिलको निर्वाचित जिम्मेवार सदस्यको पदमा रहनु भएको पदाधिकारी विवादित प्रस्तावित काठमाडौं नेशनल कलेज, घट्टेकुलो, काठमाडौंका अध्यक्ष डा जैनुद्दिन अनसारीको कार्यकक्षमा किन जानु भयो? जानुपरेको कारण के हो?
डा अंकुर साहः मेरो पिता डा हुकमदेव साह नै डा जैनुद्दिन व्यवस्थापनको वीरगन्जस्थित नेशनल मेडिकल कलेजको फ्याकल्टी हुनुहुन्छ। डा जैनुद्दिन मेरा पिताको साथी र म पनि वीरगन्जको उक्त मेडिकल कलेजमा भिजिटिङ फ्याकल्टी भएकाले बोलाउनु भएकाले गएको हुँ।