काठमाडौं- घट्टेकुलोस्थित विवादित काठमाडौं नेशनल मेडिकल कलेजको शिक्षण अस्पतालमा फाइल मिलाइरहेको अवस्थामा फेला परेका नेपाल मेडिकल काउन्सिलका सदस्य डा अंकुर साहमाथि छानबिन हुने भएको छ। काउन्सिलले उनीमाथि छानबिन गर्ने भएको हो। स्वास्थ्य मन्त्रालयसँग स्वीकृति नै नलिई अवैध रुपमा सञ्चालन हुँदै आएको शिक्षण अस्पतालमा उनी बिहीबार फेला परेका थिए।
चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगका सदस्यहरुले बिहीबार गरेको निरीक्षणका क्रममा साह कलेज सञ्चालकको कार्यकक्षमा कागजात मिलाइरहेको अवस्थामा रङ्गेहात फेला परेका थिए। उनीसँग बयानपछि आयोगले विवादित कलेज र अस्पतालमा डा साहको अनधिकृत उपस्थिति सम्बन्धमा आवश्यक कार्यार्थ नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयलाई लेखिपठाउने निर्णय गरेको छ।
काउन्सिल अध्यक्ष डा धर्मकान्त बास्कोटाले आयोगबाट पत्र आएपछि डा अंकुरमाथि काउन्सिलले छानबिन गर्ने बताए। ‘आयोगको पत्र आइसकेको छैन,’ डा बास्कोटाले भने, ‘पत्र आइसकेपछि हामी यो विषयमा आन्तरिक छानबिन गर्छौं र दोषी देखिए नियमअनुसार कारबाही गर्छौं।’ छानबिनका क्रममा डा साह विवादित कलेजको अस्पतामला जानुका भित्री कारण पनि पत्ता लगाइने उनले बताए।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार बिहीबार मध्याह्न साढे १२ बजे टोली पुग्दा साह कलेज सञ्चालक डा जैनुद्दिन अन्सारीको कार्यकक्षमा कागजपत्र मिलाइरहेको अवस्थामा फेला परेका हुन्।
विवादित मेडिकल कलेजको निरीक्षणका क्रममा काउन्सिल सदस्यलाई त्यहाँ भेटेपछि आयोग सदस्य डा उपेन्द्र देवकोटाले सोधपुछ गर्दा सञ्चालक अन्सारीले साह नजिकै बस्ने भएर मात्र आएको जवाफ दिएका थिए।
अध्यक्ष कार्कीका अनुसार साहसँग शुक्रबार आयोगको कार्यकक्षमा बोलाएर आवश्यक सोधपुछ गरिएको छ। सोधपुछका क्रममा आयोगले साहलाई विवादित कलेज सञ्चालकको कार्यकक्षमा किन गएको र जानुपरेको कारण के हो भनी प्रश्न गरेको थियो।
जवाफमा डा साहले आफ्ना बुबा डा हुकमदेव साह नेशनलका सञ्चालक अन्सारीको साथी रहेको साथै मेडिकल कलेजको फ्याकल्टी समेत रहेको बयान दिएका छन्। उनले आफू पनि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको भिजिटिङ प्रोफेसर रहेको उनले बयान दिएका छन्।