बाजुरा– जिल्लाको बुढिगंगा नगरपालिकामा रहेको टाँटे स्वास्थ्य चौकी दुर्गममै नमुना स्वास्थ्य चौकीका रुपमा स्थापित भएको छ । स्वास्थ्य चौकीले दिने सेवा सुबिधा भन्दा पनि अन्य सेवा दिँदै पहाडी जिल्लाको हकमा नमूना स्वास्थ्य चौकीको रुपमा रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
टाँटे स्वास्थ्य चौकीमा प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवा सञ्चालन गर्दै आएको छ । स्वास्थ्य चौकीले दिने सेवा भन्दा आकस्मिक रक्तसञ्चार सेवा, एक्सरे सेवा, इमर्जेन्सी सेवा, ल्याब सेवा र बिरामी भर्ना गरेर उपचार गर्दै आएको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए । टाँटे स्वास्थ्य चौकीले दिएको सेवा हिमाली तथा पहाडी जिल्लामा उत्कृष्ट रहेको छ । त्यो सेवा सञ्चालनमा आफै ब्यबस्थापन गरेको उनले बताए ।
स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा, भिसिटि केन्द्र, ओसिटि सेवा समेत सञ्चालन गर्दै आएको स्वास्थ्य चौकीका इन्चार्ज दिपक शाहले बताएका छन् । स्वास्थ्य चौकीको कार्यक्षेत्रमा थप प्रसुति केन्द्र स्थापना गरेर सेवा दिइरहेको बताए । सरकारी दरबन्दी भन्दा बाहेक सबै ब्यबस्थापन स्वास्थ्य चौकीले नै गरिरहेको शाहले बताएका छन् । अन्य अस्पताल संस्थासँगको सहकार्यमा शिविर सञ्चालन गरेर विशेषज्ञ सेवा समेत दिँदै आएको छ । गेटा अस्पातलको सहकार्यमा प्रत्येक वर्ष आँखा शिविर समेत सञ्चालन हुँदै आएको स्वास्थ्य चौकीले जनाएको छ ।
स्वास्थ्य चौकीले राम्रो सेवा दिने भएकाले बाजुराको तल्लो भेगका त्रिवेणी नगरपालिका, छेडेदह गाउँपालिका, बुढिगंगा नगरपालिका लगायत अन्य गाउँपालिका र नगरपालिकाबाट सेवा लिन आउने गरेका छन् । दैनिक ५० जना भन्दा बढी बिरामीको उपचारमा आउने गरेको स्वास्थ्य चौकीका सिअहेब बिष्णु प्रसाद जैशीले बताएका छन् । स्वास्थ्य चौकीले जिल्लामै पहिलो पटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको थियो । एम्बुलेन्स सेवा बाट जिल्लाभरिका बिरामीलाई सेवा दिँदै आएको छ । कुपोषित बच्चाको उपचार समेत स्वास्थ्य चौकीमा हुने गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माका अनुसार टाँटे स्वास्थ्य चौकीले राम्रो सेवा दिएको बताएका छन् । पूर्ण खोप गाबिस, संस्थागत सुत्केरी घोषणा पनि टाँटे स्वास्थ्य चौकीबाट भएको बताए । अर्काे राम्रो पक्ष इमर्जेन्सी सेवा दिएर बिरामी भर्ना गर्ने गरेको बताए । स्वास्थ्य चौकीको सरसफाइ ब्यबस्थापन पनि धेरै राम्रो रहेको छ । बुढीगंगागा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष भरत थापाले भने अरु स्वास्थ्य चौकीले पनि यहाँ सिकाइ सिक्न जरुरी रहेको बताए।
गुणस्तरी ल्याब सेवा
टाँटे स्वास्थ्य चौकीले ल्याब सेवा मात्र सञ्चालनमा नभई गुणस्तरीय सेवा समेत दिँदै आएको छ । ल्याब सेवाबाट प्राथमिक स्वास्थ्य केन्द्रमा हुने सबै प्रकार जाँच गर्दै आएको छ । रगत, दिशापिसाब, खकार चेक जाँच हुने गरेको छ । त्यो सँगै एचआइभी रगत परिक्षण समेत हुने गरेको छ । ल्याब टेक्निकसियन खड्ग बिष्टका अनुसार सके जति गुणस्तरीय सेवा दिइरहेका छौं, आवश्यक परेमा २४ घण्टामा यो सेवा दिने गरेको बताए ।
‘स्वास्थ्य चौकीमा सेवा सञ्चालनमा नआउँदा जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियो । सामान्य रगत चेक जाँचका लागि एक दिनको दूरीमा रहेको अछामको बयलगडा जानुपर्ने हुन्थ्यो,’ उनले भनिन् । स्वास्थ्य चौकीमै यो सेवा सञ्चालनमा आउँदा निकै सहज भएको स्थानीय हिरेन्द्र थापाले बताएका छन् । स्वास्थ्य चौकीमै ल्याब सेवा र एक्सरे सेवा सञ्चालनमा आउँदा उपचार गर्नमा निकै सहज भएको स्वास्थ्य चौकीका इन्चार्ज दीपक शाहले बताएका छन् । पहिला अनुसन्धानका आधारमा उपचार गर्ने गरेका थियौं, ल्याब र एक्सरे सेवा सञ्चालनमा आएपछि उपचार गर्ने र रोगको निदान गर्न सहज बनेको शाहले थपे।
जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा कार्यरत ल्याब टेक्निसियन रतन बुढाले भने टाँटे स्वास्थ्य चौकीले दिँदै आएको ल्याब सेवा गुणस्तरीय रहेको बताए । सरकारी मापदण्ड अनुसार सेवा सञ्चालनमा आएको छ, त्यहीअनुसार आवश्यक सामग्री पनि ब्यबस्थापन रहेको बुढाले बताए। स्थास्थ्य चौकीमा कार्यरत ल्याब टेक्निसयनलाई तलबको ब्यबस्थान पनि स्वास्थ्य चौकीले नै गर्दै आएको छ।
पहिलो पूर्ण संस्थागत सुत्केरी
टाँटे स्वास्थ्य चौकीले बाजुरा जिल्लामा पहिलो पूर्ण संस्थागत सुत्केरी वडाहरु घोषणा गरेको छ । साबिकको कुल्देवमाडौं गाबिस तथा बुढीगंगा नरपालिका ४, ५, ६ वडा र झाली गाउँ घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यलय बाजुरा प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताए । ती वडामा आर्थिक बर्ष ०७३।०७४ मा १ सय ६३ जना सुत्केरी भएको ति मध्ये १ महिलाले घरमै जन्माएको र बाँकी सबैले स्वास्थ्य संस्थामै बच्चा पाएको टाँटे स्वास्थ्य चौकीका इन्चार्ज दिपक शाहले बताए । ती वडाहरुमा सुत्केरी सेवाका लागि टाँटे स्वास्थ्य चौकी र झालीमा बर्थिङ्ग सेन्टर स्थापना गरिएको थियो । दुबै संस्थाबाट गएको आर्थिक वर्षमा १ सय ६३ जना गर्भवती रहेको ति सबैले स्वास्थ्य संस्थामा बच्चा पाएको शाहले बताए । गएको आर्थिक बर्षमा सबैले स्वास्थ्य संस्थामा नै बच्चा जन्माए र साउन यता पनि सबैले स्वास्थ्य संस्थामा बच्चा जन्माएकाले घोषणा गरिएको टाँटे स्वास्थ्य चौकीले जनाएको छ।
स्वास्थ्य संस्थाको कार्यक्षेत्रका ९५ प्रतिशत महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गराएपछि पुर्ण संस्थागत सुत्केरी घोषणा गर्ने निर्देशिका अनुसार घोषणा भएको जनस्वास्थ्य अधिकृत रमेश कुँवरले वताए । पुर्ण संस्थागत सुत्केरी गराउन प्ररेति गर्नका लागि बिभिन्न कार्यक्रम सञ्चालन भएका थिए।
स्वास्थ्य चौकीमै रक्क्तसञ्चार सेवा
बाजुराको टाँटे स्वास्थ्य चौकीमा आकस्मिक रक्तसञ्चार सेवा सञ्चालनमा रहेको छ । देशमै ग्रामिण भेगका स्वास्थ्य चौकिमा आकस्मिक रक्तसञ्चार सेवा सञ्चालन नभए पनि टाँटे स्वास्थ्य चौकीले सेवा सञ्चालनमा ल्याइरहेको टाँटे स्वास्थ्य चौकिका ईन्चार्ज दिपक शाहले बताएका छन्।
सुदूरपश्चिमका कुनै पनि स्वास्थ्य चौकीमा यो सेवा नभएको स्वास्थ्य चौकीले जनाएको छ । पहिलो पटक आफूहरुले सेवा सञ्चालनमा ल्याएर सेवा दिइरहेको स्वास्थ्य संस्थाले जनाएको छ । रगत अभाबमा धेरैले अकालमै ज्यान गुमाउनुपर्ने र जिल्ला बाहिर जानुपर्ने बाध्यता भएकाले स्वास्थ्य चौकीमा स्थापना गरेको दिपक शाहले बताए। स्थानिय सहयोग, जिल्ला स्वास्थ्य कार्यलय र स्वास्थ्य चौकिमा कार्यरत कर्मचारीको पहलमा आफुहरुले आकस्मिक रक्त सेवा सञ्चार सुचारु गरेको स्वास्थ्य चौकीमा कार्यरत ल्याब टेक्निसियन खड्ग बिष्टले बताएका छन्।
आकस्मिक रक्त सञ्चार सेवा सञ्चालनका लागि आवश्यक सामान खरिद गरेर स्वास्थ्यकर्मीलाई तालिम दिएर सञ्चालनमा ल्याएको छ । टाँटे स्वास्थ्य चौकीमा आकस्मिक रक्तसञ्चार सेवाले स्थानीयलाई निकै सहज भएको जिल्ला स्वास्थ्य प्रमुख रुपचन्द्र बिश्वकर्माले बताएका छन्। आकस्मिक रक्तसञ्चार सेवा जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा पनि छ । नेपाल रेडक्रस सोसाटी बाजुराले ब्लड बैंक स्थापना नगर्दा जिल्लामा रगतको निकै अभाव हुने गरेको स्वास्थ्यकर्मीले वताएका छन् । रगत नपाउँदा उपचार सेवा समेत प्रभाबित हुँदै गएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका डा. दुर्गा महर्जनले बताए।