नेपालगन्ज– हात्तीपाइले रोग नियन्त्रण गर्ने उद्देश्यले बाँकेमा सञ्चालन गरिएको हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रम अझै प्रभावकारी बन्न सकेको छैन।
लगातार ६ वर्षसम्म औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिए पनि त्यसको उपलब्धि निराशाजनक देखिएको हो।
11 संगठनको सहयोगमा स्वास्थ्य सेवा विभागको टोलीले कात्तिकको तेस्रो साता नेपालगन्ज, रझैना र बिनौनाका ९ सय २२ जनाको रगत चेक गर्दा १ सय ९ जना अर्थात् करिब ११ प्रतिशतमा हात्तीपाइले पोजेटिभ देखिएको छ।
२०७२ माघमा नेपालगन्ज र रझैनाका ६ सय २४ जनाको रगत जाँच गर्दा ९९ जना अर्थात् करिब १६ प्रतिशतमा हात्तीपाइले पोजेटिभ देखिएको थियो। २०६७ मा बाँकेमा गरिएको अध्ययनले २१ प्रतिशतमा हात्तीपाइले पोजेटिभ देखिएको थियो।
यो वर्ष बाँकेको रझैना गाउँका ३ सय ४ जनाको रगत जाँच गर्दा ६९ जनामा हात्तीपाइले पोजेटिभ देखिएको छ।
२ वर्षअघि रझेनामा १ सय ३१ जनाको रगत जाँच गर्दा ४५ जना मा हात्तीपाइले पोजेटिभ भेटिएको थियो।
यस्तै, बाँकेमा ७२ सालमा ६२ र ७३ सालमा ७३ प्रतिशतले हात्तीपाइलेको औषधि खाएका थिए। ६ वर्ष औषधि खुवाउँदा पनि जोखिम नघटेपछि सातौं पटक पनि हात्तीपाइलेको औषधि खुवाउनुपर्ने भएको छ।
हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र स्वयंसेवकले आफ्नै उपस्थितिमा खुवाइएको थियो।

विगतका वर्षमा हात्तीपाइलेको औषधि घरघरमा गएर स्वास्थ्यकर्मीले वितरण गरे पनि खाने मान्छेले नखाइदिएका कारण यस्तो अवस्था आएको थियो।
हात्तीपाइलेको औषधि खाँदा हुन सक्ने प्रतिअसरबारे स्वास्थ्यकर्मीले राम्रोसँग बुझाउन नसकेको बाँकेका जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्काले बताए। उनका अनुसार हात्तीपाइलेको औषधि खाँदा मान्छेको मृत्युसम्म भएको, धेरै मान्छे बिरामी परेको गलत प्रचारका कारण औषधि लिने तर नखाने समस्या छ।
हात्तीपाइलेको औषधि खाएपछि केही व्यक्तिलाई पेट र टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने र वाकवाकी लाग्ने प्रतिअसर देखिन सक्छ।
६ वर्ष लगातार औषधि खुवाउँदा पनि बाँकेको रझैनाका २३ प्रतिशतमा हात्तीपाइले पोजेटिभ देखिएपछि हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रमको प्रभाकारिता माथि प्रश्न उठेको हो।
जिल्ला जनस्वास्थ्य कार्यालयले हात्तीपाइलेको औषधि खुवाउनुपूर्व महिला स्वयंसेविका, स्वास्थ्यकर्मी, वडा नागरिक मञ्चका सदस्यहरुलाई तालिम दिँदै आएको छ। हरेक वर्ष ४ दिनसम्म सञ्चालन हुने हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रममा बाँकेमा स्वास्थ्यकर्मीसहित करिब २ हजार ६ सय जना संलग्न हुने गरेका छन्।
बाँकेमा मात्रै एक पटक हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्नका लागि करिब ८० लाख खर्च हुने गरेको छ।
लगातार ६ पटक औषधि खुवाइएका कारण हात्तीपाइले रोगको असर १ प्रतिशत भन्दा कम हुने अपेक्षा गरिएको थियो। तर, हात्तीपाइलेको पछिल्लो अवस्था पत्ता लगाउने उद्देश्यले गरिएको अध्ययनले बाँकेमा अझै पनि करिब ११ प्रतिशत जनतामा हात्तीपाइले पोजेटिभ छ।
हात्तीपाइले औषधि खुवाउने क्रममा भएको चरम लापरबाही र हेलचेक्राइँका कारण यस्तो अवस्था आएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका एक अधिकृतले बताए।