काठमाडौं– महाराजगंजस्थित नेपाल प्रहरी अस्पतालले आइतबारदेखि सर्वसाधरणलाई पनि सेवा दिन सुरु गरेको छ । देशकै सबैभन्दा न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिने अस्पतालको दाबी छ।
अस्पतालमा सामान्य टिकटको दर ५० रुपैयाँ राखिएको छ । जून देशको सस्तो मानिएको अस्पताल वीर अस्पतालकै बराबर हो । ल्याब टेष्ट लगायतको शुल्क केन्द्रीय प्रयोगशाला तथा वीर अस्पतालमा भन्दा सस्तो पर्ने अस्पतालका प्रमुख एआईजी डा.दिनेशचन्द्र पोखरेलले बताए । ‘लागतको २५ प्रतिशत थपेर हामीले ल्याब टेष्टको शुल्क निर्धारण गरेका छौं,’ उनले भने,‘जसअनुसार वीर लगायत सरकारी अस्पतालमा भन्दा सस्तो पर्नेछ ।’ देशका सरकारी अस्पतालहरुमध्ये आफुहरुले अत्याधुनिक ल्याब राखेको उनको भनाई छ । आईएसओ स्ट्यान्डर्डको ल्याब स्थापना गरी आईएसओबाट प्रमाणिकरणको समेत प्रक्रिया अघि बढाइसकेको प्रहरीले जानकारी दिएको छ ।
तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले प्रहरी अस्पताल सर्वसाधारणका लागि खुल्ला गर्न प्रहरी अस्पतालसँग सम्झौता गरेका थिए। सोही अनुरुप प्रहरीले सर्वसाधारणका लागि उपचार सेवा खुल्ला गरेको हो।
आइतबार प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सर्वसाधरणलाई स्वास्थ्य सेवा प्रदान गरिने कार्यको शुभारम्भ गरेका छन् । अस्पतालले सर्वसाधरणलाई लागि ३२ बेड छुट्याएको छ। प्रहरी अस्पताल २ सय १२ बेडको हो । सिटि क्यान, एमआरआई लगायत सुविधा समेत अस्पतालले दिने भएको छ । अस्पतालले बिहान नौ बजेदेखि बेलुका तीन बजेसम्म सेवा दिने भएको छ । सरकारले बजेट दिएमा आफुहरुले ५ बजेसम्म खोल्ने एआईजी डा.पोखरेलले बताए । उद्घाटन कार्यक्रममा प्रहरी महानिरीक अर्यालले अस्पतालको सेवा र क्षमतालाई अझै विस्तार गरिदै लगिने बताए ।