काठमाडौं– डा गोविन्द केसीले विवादित काठमाडौं नेशनल मेडिकल कलेजको फाइल मिलाउँदै गर्दा भेटिएका नेपाल मेडिकल काउन्सिल सदस्य डा अंकुर साहलाई कारबाही गर्न माग गरेका छन् । आइतबार शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले नियामक निकायमा रहेर नियमन गर्नुपर्नेमा उल्टै सहयोग गर्नु गलत रहेको भन्दै कारबाहीको माग गरेका हुन् ।
चिकित्सा शिक्षा विधेयक प्रमाणिकरण भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो माग गरेका हुन् । कार्यक्रममा उनले भने, ‘सम्बन्धनको विषयमा विवादित रहेको मेडिकल कलेजमा काउन्सिल सदस्य कुन स्वार्थले पुगे ? यसको निष्पक्ष छानविन गरी कारबाही हुनुपर्छ ।’
स्वास्थ्य मन्त्रालयसँग स्वीकृति नै नलिई अवैध रुपमा सञ्चालन हुँदै आएको शिक्षण अस्पतालमा उनी बिहीबार फेला परेका थिए। चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगका सदस्यहरुले बिहीबार गरेको निरीक्षणका क्रममा साह कलेज सञ्चालकको कार्यकक्षमा कागजात मिलाइरहेको अवस्थामा रङ्गेहात फेला परेका थिए। उनीसँग बयानपछि आयोगले विवादित कलेज र अस्पतालमा डा साहको अनधिकृत उपस्थिति सम्बन्धमा आवश्यक कार्यार्थ नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयलाई लेखिपठाउने निर्णय गरेको छ।
यसैबिच चिकित्सा शिक्षा विधेयक आगामी संसदबाट पास हुनेमा आफू आशावादी रहेको उनले बताए । उनले यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै चनाखो भएर बस्नुपर्ने औंल्याए । उनले भने, ‘आगामी संसदबाट ऐन पारित हुनेमा विश्वस्त छु । भएन भने हाम्रो सत्याग्रह फेरि पनि कायम रहन्छ ।’