पोखरा– जनस्वास्थ्य कार्यालय कास्कीले स्थानीय तहलाई स्वास्थ्य संस्थाहरु हस्तान्तरण गरेको छ । पोखरा लेखनाथ महानगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरु पोखरा लेखनाथ महानगरपालिकाको जिम्मा लगाइएको हो । जिल्ला समन्यव समिति कास्कीको आयोजनामा भएको एक कार्यक्रममा स्वास्थ्य संस्था हस्तान्तरण गरिएको हो।
ती स्वास्थ्य संस्थाका चल र अचल सम्पति पनि अब स्थानीय तहको मातहतमा हुनेछन्। मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका अन्तर्गत रहेका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईहरुलाई यसअघि नै एक कार्यक्रम बीच स्थानीय तहको हस्तान्तरण गरिसकिएको थियो।
जिल्ला जनस्वास्थ्य कार्यालयको तर्फवाट कार्यालय प्रमुख, प्रमुख जनस्वास्थ्य प्रशासक दिनेश कुमार चापागाईं तथा महानगरपालिकाको तर्फवाट मेयर मान बहादुर जि.सी.ले जिल्ला समन्यय समितिका प्रमुखको रोहवरमा हस्ताक्षर गरि हस्तान्तरण भएको थियो।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख जनस्वास्थ्य प्रशासक चापागाईंले स्वास्थ्य संस्था हस्तान्तरणको संवैधानिक प्रावधान, हस्तान्तरण प्रक्रिया तथा स्थानीय तहमा सञ्चालित स्वास्थ्यका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए। आगामी दिनहरुमा जि.ज.स्वा. कार्यालयले अनुगमन तथा सहयोगात्मक सुपरिवेक्षण, सेवाको गुणस्तर सुधार तथा समन्वयनकारी भूमिका निर्वाह गर्ने बताए।
कार्यक्रम जिल्ला समन्यय समितिका प्रमुख बैनवहादुर क्षेत्रीले विकास निर्माणका अन्य योजनाहरुलाई आगामी दिनहरु क्रमैसँग गर्दा पनि फरक नपर्ने तर स्वास्थ्यका कार्यक्रमहरु थाति राख्न नहुने हुँदा सोही अनुसार स्थानीय तहमा स्वास्थ्यका कार्यक्रमहरुलाई प्राथमिकता राखी सञ्चालन गर्न सुझाए।
जिल्ला समन्यव समिति कास्कीका प्रमुख क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घ नारायण पौडेलले हस्तान्तरण गरेता पनि जिल्ला जनस्वास्थ्य कार्यलयको सहयोग अपरिहार्य रहेको बताए। महानगरपालिकाका मेयर जि.सीले सबै महानगरहरु मध्ये उत्कृष्ट स्वास्थ्य नीति भएको महानगरपालिका बनाउने योजना रहेको र यसका लागि जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगको अपेक्षा व्यक्त गरे। जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले स्वागत गरेको कार्यक्रमको संचालन जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका परिवार नियोजन अधिकृत सन्तोष पौडैलले गरेका थिए।