जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा द्वन्द्वकालका घाइतेहरुको नि:शुल्क उपचार सुरु भएको छ।
प्रतिष्ठान र शान्ति तथा पुनर्निर्माण मन्त्रालयको शान्ति कोषको सहकार्यमा द्वन्द्वकालका घाइतेहरुको नि:शुल्क उपचार सेवा सुरु भएको हो। कात्तिक २४ गते प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले र शान्ति कोषबीच सम्झौता भएसँगै परियोजना सञ्चालनमा आएको हो।
सेवा सुरु भएसँगै प्रदेश नम्बर ६ का १० जिल्ला र अछाम, बाजुरा र बझाङ गरेर १३ वटा जिल्लाका द्वन्द्वकालका घाइतेले उपचार पाउनेछन्। उपचार गराउन आउने घाइतेको हकमा आतेजाते र उपचार सेवा नि:शुल्क हुनेछ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रजिष्टार विश्वराज काफ्लेले द्वन्द्वकालका घाइतेले परिचयपत्रका आधारमा निःशुल्क सेवा पाउन सक्नेछन्।
द्वन्द्वकालका घाइतेको उपचार खर्च, यातायात र खान-बस्नका साथै उपचारका लागि चाहिने उपकरणका लागि शान्ति कोषले १० करोड रुपैयाँ दिने भएको छ।
द्वन्द्वकालका जस्तोसुकै जटिल समस्या भएका बिरामी आए पनि सहजै रुपमा उपचार हुने व्यवस्था मिलाउन अस्पताल प्रशासनले तत्काल नेत्र रोग विशेषज्ञ र फिजियो थेरापी विभाग खोल्ने पहल थालेको छ। आगामी असारसम्ममा परियोजना अन्तर्गत उत्कृष्ट सेवा दिने योजना रहेको रजिष्टार काफ्लेले बताए।
द्वन्द्वकालमा कर्णाली निकै प्रभावित क्षेत्र भएकाले यहाँ घाइते र अंगभंग भएकाहरु बढी छन्। यसअघि घाइतेको उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा हुने व्यवस्था थियो।