डक्टर्स आर्टिकल

फिजियोथेरापीः हाडजोर्नी, नसा, स्पोर्टस, गाइनेकोलोजी लगायतका १० वटा विभागमा कस्तो भूमिका छ?

 डा सोनी देव

फिजियोथेरापी स्वस्थ जीवनशैलीलाई बढावा दिने उपचार पद्धति हो। यसले शारीरिक अभ्यास र फिजियोथेराप्युटिक मेसिनहरूद्वारा रोगको निदान तथा असक्षमता रोक्न सहायता पुर्‍याउँछ। यसले हाडजोर्नी तथा नसासम्बन्धी समस्याबाट भएको दुखाइ कम गर्नुका साथै अझै बढ्नबाट रोक्नसमेत सहयोग गर्छ। कुनै पनि औषधिको प्रयोग नगर्ने हुनाले यसको नकारात्मक असर हुँदैन।

फिजियोथेरापी बालबालिकादेखि वृद्धवृद्धासम्म सबैलाई हुने एलोपेथी उपचार पद्धतिको स्वतन्त्र विभाग भए पनि यसलाई सबै न्याचुरोप्याथी र आयुर्वेदिक केन्द्रहरूमा समावेश गराइएको पाईन्छ। फिजियोथेरापिस्टले शिक्षा र सल्लाहद्वारा दैनिक जीवनशैली सुधार्न र अगाडि बढ्न प्रेरणा र हौसला प्रदान गर्छन्।

फिजियोथेरापिस्ट कसलाई भनिन्छ?
फिजियोथेरापिस्ट हुन विज्ञान संकायमा उच्च माध्यमिक तह पढेपछि फिजियोथेरापीको चारवर्षे स्नातक पाठ्यक्रमसँगै ६ महिनाको इन्टर्नसिप गरेको हुनुपर्छ। फिजियोथेरापीमा विशेषज्ञ हुन थप दुईवर्षे मास्टर्स डिग्री गरेको हुनुपर्छ। मास्टर्स डिग्री न्युरोलोजी, अर्थोपेडिक, कार्डियोरेस्पिरेटोरी, पेडियाट्रिक, गाइनोकोलोजी, मस्कुलोस्केलेटल, स्पोट्र्स लगायतमा गर्न सकिन्छ। यसका साथै फिजियोथेरापीमा पिएचडी पनि गर्न सकिन्छ। फिजियोथेरापीमा प्रमाणपत्र तह पास गरेकाहरूलाई फिजियोथेरापी सहायक भनिन्छ। सम्बन्धित विषयमा पढाइ सकेर आएपछि दर्ता नम्बर प्राप्त गरेपछि मात्र फिजियोथेरापिस्ट भनिन योग्य हुन्छ। फिजियोथेरापिस्टले आफै मूल्यांकन गरेर रोग निदान गरी उपचार योजना बनाउँछन्।

फिजियोथेरापीमा कुन बेला र कसरी जाने?
हाडजोर्नी तथा नसा रोगसम्बन्धी कुनै समस्या (जस्तैः घाँटी, ढाड, कुम, घुँडा, पैताला लगायत दुखेमा, कुनै कारणले हातखुट्टा नचलेमा वा चोटपटक लागि सुन्निएमा) भए फिजियोथेरापिस्टकहाँ जाने वा सम्बन्धित परामर्शदाता डाक्टरहरूसँग सल्लाह लिने।
फिजियोथेरापी विभाग हरेक अस्पतालमा हुन्छ र कतिपय ठाउँमा निजी क्लिनिक पनि खोलिएको हुन्छ। फिजियोथेरापीद्वारा उपचार हुने कुनै पनि समस्याबारे रोकथाम, सावधानी, निदान र उपचारका लागि फिजियोथेरापिस्टकहाँ जान सकिन्छ। 

फिजियोथेरापीको कुन विभागमा कस्तो भूमिका छ?
अर्थोपेडिक 

- शरीरमा कुनै भागको हड्डी प्र्mयाचर भएर प्लास्टर गरेपछिका जटिलतालाई गति अभ्यासको दायराद्वारा कम गरिनुका साथै जोर्नी कठोरताका लागि मोविलाइजेसन गरिन्छ।
-  घाँटी तथा ढाड दुखेकाहरूका लागि मेसिन लगाए दुखाइ कम गरिनुका साथै मांसपेशी स्पाजम भएकोमा तातोले सेकेर मायोफेसिअल रिलिज गरिन्छ। 
- कुम जाम भएकोमा मोविलाइजेसनद्वारा खोलेर मांसपेशी बलियो बनाउने अभ्यास गराइन्छ।
-  टेनिस एल्वो, गोल्फर्स एल्वो, ज्वाइन्ट इफ्युजन, बर्साइटिस, टेन्डनाइटिस, लिगामेन्ट टिअर, मायोसाइटिस्, फाइब्रोमाल्जिया इत्यादिमा अल्ट्रासाउन्ड थेरापी मेसिन र व्यायाम गराइन्छ।
-  घुँडा तथा अन्य जोर्नीको हड्डी खिइएको दुखाइलाई पनि मेसिनको प्रयोग र अभ्यासहरूबाट कम गरिन्छ। 
- चोटपटक लागेर दुखेको तथा सुन्निएकोमा आइसप्याकले सेकेर अल्ट्रासाउन्ड थेरापी अत्यन्त प्रभावकारी हुन्छ।
- यसका साथै केही कारणवश कुनै हातखुट्टा काट्नुपरेमा एम्पुटसनपश्चात् दैनिक क्रियाकलाप गर्न सक्षम बनाउने अभ्यास पनि गराइन्छ, जसलाई अर्थोपेडिक रिह्याबिलिटेसन भनिन्छ।

न्युरोलोजी
- घाँटी तथा ढाडमा नसा च्यापिएको दुखाइमा दुखाइ कम गर्ने मेसिन लगाइन्छ र निदाउने, पोल्ने, लाटो हुनेजस्ता समस्या भएमा ट्राक्सनको प्रयोग गरिन्छ। यसमा मांशपेशी बलियो बनाउने, नसा तन्काउने अभ्यास गराई दुखाइ कम गर्नुका साथै दैनिक गतिविधिमा सावधानीका साथ कार्य गर्ने तरिका पनि सिकाइन्छ, जसले अझै बढ्नबाट जोगाउँछ।
- न्युरोलोजिकल अवस्थाहरू जस्तैः पक्षघातका कारण हातखुट्टा नचलेको अथवा कमजोर भएकोमा स्ट्रोक रिह्याबिलिटेसन गरिन्छ।
- फिजियोथेरापीले स्पाइनल कर्ड इन्जुरी भएमा रक्त परिसंचारण कायम राख्नुका साथै गतिको दायरालाई कायम राखी विकृतिलाई रोक्न मद्दत पुर्‍याउँछ।
- मस्कुलर डिस्ट्रोफी, पोलियोमेलाइटिस, पेरिफेरल न्युरोपेथी, विल्सन्स डिजिजजस्ता अन्य रोगमा पनि फिजियोथेरापीको महत्वपूर्ण भूमिका छ।
- यसका साथै टाउकोसम्बन्धी कुनै पनि शल्यक्रियापश्चात् हातखुट्टा कमजोर वा नचल्नेमा पनि फिजियोथेरापी गरिन्छ, जसलाई न्युरो रिह्याबिलिटेसन भनिन्छ।

कार्डियोरेस्पिरेटोरी 
- श्वासप्रश्वासका व्यायामहरूद्वारा फोक्सोको क्षमता बढाउनुका साथै संक्रमणबाट जोगाउन मद्दत पु¥याउँछ।
- डिप ब्रिथिङ, पर्कशन, भाइब्रेसन, हफिङ, कफिङ, एसिबिटी लगायत विधिको प्रयोग गरेर फोक्सोलाई स्वस्थ राख्न फिजियोथेरापीको अन्यन्त महत्वपूर्ण भूमिका छ। 
- डिप भेन थ्रोम्बोसिस रोकथाम गर्न ऐङकल टो पम्प र मोविलिटीको अभ्यास गराइन्छ। 
- स्ट्याटिक साइकल, ट्रेडमिल जस्ता उपकरणहरूमा अभ्यास गराएर मुटु स्वस्थ राख्न सकिन्छ।
- मुटुको शल्यक्रियापश्चात् कार्डिएक रिह्याबिलिटेसनका साथै फोक्सोको समस्या भएका बिरामीलाई पल्मोनरी रिह्याबिलिटेसन गराइन्छ।

गाइनेकोलोजी
- गर्भवती महिलामा कोर मसल्स स्ट्रेन्थेनिङ अभ्यासका साथै प्रिनेटल अभ्यासहरू र सुत्केरीपश्चात् पोस्टनियोटल अभ्यासहरू सिकाइन्छ।
- हर्नियाजस्तो समस्या भएकोमा किगल अभ्यास र डिफिकेसन टेक्निकहरू गराइन्छ।
- युरिनेरी इन्कन्टिनेन्समा पनि फिजियोथेरापी अभ्यासको महत्वपूर्ण भूमिका छ।

पेडियाट्रिक
- बालबालिकामा जन्मजात रोगहरू जस्तैः सेरेब्रल पाल्सी, डोम्स, अटिजम लगायतका विकार रोक्ने, रक्त परिसंचारण कायम राख्नुका साथै दैनिक गतिविधिमा आत्मनिर्भर बनाउने अभ्यासहरू गराइन्छ।
- बच्चाहरूलाई सक्रिय बनाउने र मानसिक विकास गराउने अभ्यासका साथै आवश्यकता भएको खण्डमा उपकरणको प्रयोग पनि गरिन्छ।
- पेडियाट्रिक रिह्याबिलिटेसनले माइलस्टोन डेभलपमेन्टमा पनि मद्दत पु¥याउँछ।

जेरियाट्रिक्स 
- वृद्ध अवस्थामा हुने समस्याहरू जस्तैः हड्डी खिएर भएको दुखाइमा मेसिनको प्रयोग गरेर दुखाइ कम गरिनुका साथै कमजोर भएका मांशपेशी बलियो बनाउने व्यायाम गराई दैनिक जीवनका गतिविधि आफै गर्न सक्ने हुन्छन्। 
- गठिया, ओस्टियोपोरोसिस, अल्जाइमर, पार्किन्सन्स, ट्रेमर सन्तुलन विकास इत्यादिमा पनि जटिलता कम गर्नुका साथै गतिशीलता बढाउन र दुखाइमुक्त बनाउन फिजियोथेरापी निकै प्रभावकारी उपचार पद्दति मानिन्छ।

स्पोर्टस्
- खेल मैदानमा खेलाडी घाइते भएमा उसको समस्याहरू जस्तैः हातखुट्टा मर्केको अथवा सड्केको, चोट लागेर सुन्निएकालाई तुरुन्तै उपचार गरी पूर्ण खेलमा सामिल गराउन फिजियोथेरापिस्टको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ। 
- खेल खेल्दा, प्रतिस्पर्धा गर्दा, प्रशिक्षण अभ्यास गर्दा वा फिटनेस गतिविधिहरू गर्दा दुखाइमा आइस प्याक, ब्यान्डेजिङ, एनाल्जेसिक स्प्रेको प्रयोग गरिन्छ भने मांशपेशी च्यातिएको वा फाटेकोमा टेपिङ गरिनुका साथै हड््डी भाँचिएकोमा वा जोर्नी फुस्केकोमा इम्मोविलाइजरको प्रयोग गरिन्छ।

इएनटी
-  फिजियोथेरापिस्टले रिँगटा लाग्दा विशिष्ट प्रविधिको व्यायाम गराउँछन्, जसलाई एप्लिज म्यानोवर भनिन्छ।
- उभिने र हिँड्ने सन्तुलन अभ्यास पनि गराइन्छ, जसलाई भेस्टिवुलर रिह्याबिलिटेसन भनिन्छ।

वर्न
- फिजियोथेरापिस्टले आगोले जलेपछि छाला खुम्चिन नदिने र गतिको दायरालाई जोगाई जोर्नीहरूको विकृतिलाई रोक्न मद्दत पुर्‍याउँछन्।
- आफै गर्ने व्यायाम र तालिमप्राप्त व्यक्तिको सहायताले गर्ने व्यायाम, आवश्यकता अनुसार सिकाउनका साथै गराइन्छ। 
- श्वासप्रश्वासको व्यायाम गराई फोक्सोको संक्रमणबाट जोगाउन मद्दत पु¥याइन्छ।
- आवश्यक भएको खण्डमा कास्टिङ, स्प्लिन्ट र शरीरका भागहरूमा सहायक यन्त्रको प्रयोग पनि गरिन्छ।
- ट्रान्सफर टेक्निक्सहरू सिकाउनुुका साथै आफ्नो दैनिक कार्य चाँडै र सजिलो हुने गरी गर्ने अभ्यास पनि फिजियोथेरापीमा गराइन्छ।

जनरल मेडिसिन
- माथि उल्लिखित विभागबाहेक जनरल मेडिसिनअन्तर्गत पर्ने उच्च रक्तचाप कम गर्न, मधुमेह र केही प्रकारका क्यान्सरको जोखिमलाई कम गर्न, मोटोपना घटाउन पनि फिजियोथेरापिस्टहरूले विशेष प्रकारका व्यायाम गराउँछन्।

महत्वपूर्ण सुझाव 
- घाँटी दुखेको व्यक्तिले निहुरेर धेरै बेरसम्म नबस्ने र हातमा गह्रुँगो सामान नबोक्ने।
- कुम दुख्ने समस्या भएका व्यक्तिले त्यो हातले गह्रुँगो सामान नउचाल्ने अनि त्यो भागपट्टि थिचेर नसुत्ने।
- ढाड दुख्ने व्यक्तिले अगाडि झुकेर गह्रुँगोे सामान नउचाल्ने। काम गर्दा र यात्रा गर्दा लम्बर बेल्टको प्रयोग गर्ने र धेरै बेरसम्म एउटै अवस्थामा नबस्ने अनि लामो समयसम्म लगातार नहिँड्ने।
-  घुँडा दुख्ने व्यक्तिले उकालो, ओरालो, भ¥याङ आदिमा कम हिँड्ने र हिँड्दा वा काम गर्दा निक्यापको प्रयोग गर्ने। टुक्रुक्क र पलेँटी कसेर लामो समयसम्म नबस्ने र हिल जुत्ताको प्रयोग नगर्ने।
- कुर्कुच्चा दुख्ने व्यक्तिले सकेसम्म नरम सोल भएको जुत्ता लगाउने वा सफ्ट सु–प्याड जुत्तामा हालेर लगाउने अथवा स्पोर्टस् जुत्ता लगाउँदा राम्रो हुन्छ।
-  गर्भवती र सुत्केरी महिलाले पनि नियमित व्यायाम गर्न अत्यन्तै लाभदायक हुन्छ।
चोटपटक लागेर दुखेको वा सुन्निएको अवस्थामा तुरुन्तै आइस प्याकले २० मिनेटसम्म दिनको तीन–चार पटकसम्म सेक्ने। 

-(डा सोनी देव, सिनियर फिजियोथेरापिस्ट, इसिएम– नेप्टा, न्युरो अस्पताल)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

madam gautam लेख्नुहुन्छ साउन ३०, २०७५ बुधवार ०९:४७:२८
Thanks for your valuable information

यसमा तपाइको मत




पढ्नै पर्ने