चितवन -विगत केही समयदेखि चितवन जिल्लामा रसायनिक विषादीको प्रयोगमा कमी ल्याई स्वस्थ खाद्यन्न उत्पादनमा जोड दिन स्थानीय सरकार र विभिन्न संघसंस्थाहरु सक्रिय देखिएका छन्।
हालसालै भरतपुर महानगरपालिका वडा नं. १४ र नेपाल जनस्वास्थ्य प्रतिष्ठानको संयुक्त आयोजनामा रसायनिक विषादीका विकल्प र विषादीको सुरक्षित प्रयोगबारे २२ हप्ते कृषक पाठशाला शिवनगरमा सम्पन्न भएको छ।
उक्त पाठशालाबाट तालिम पाएका ३० जना कृषकहरुको संयोजकत्वमा वडाका अन्य कृषकहरुलाई पनि समेटी प्रत्येक टोलमा आइ.पि.एम पद्दतिबाट खेती गरिने भएको छ ।
यसै कार्यक्रमलाई सहजीकरण गर्न वडा कार्यालय र नेपाल जनस्वास्थ्य प्रतिष्ठानले कार्तिक १८ गते ९ वटा टोलका कृषक उपसमितिहरुलाई मौसमी तरकारीका बिउहरु उपलब्ध गराउनुका साथै विषयसँग सम्बन्धित प्राविधिक कक्षा पनि सञ्चालन गरेका छन् ।
प्रत्येक टोलका उपसमितिमा ७ देखि १० जना कृषकहरु रहेको बताइएको छ।कृषकहरुले उक्त खेती सामूहिक रुपमा गर्नुपर्ने र जनप्रतिनिधि लगायत वडा स्तरीय अनुगमन टोलीद्वारा नियमित सुपरिवेक्षण गरी कार्य मूल्याकंनका आधारमा पुरस्कृत गरिने प्रावधान रहेको वडा नं. १४ का वडा अध्यक्ष ओम प्रकाश पोखरेलले बताए।
साथै यसरी उत्पादन भएको स्वस्थ्य तरकारी बिक्रिका लागि वडा स्तरमै हाटबजार स्थापना गर्न पहल भइरहेको पनि उनले जानकारी गराए।
यसरी रसायनिक विषादी न्यूनीकरण अभियानमा सम्पूर्ण कृषकहरु, विषादी बिक्रेताहरु, स्वास्थ्यकर्मीहरु, बौद्धिवर्ग एवं उपभोक्ताहरु जुट्ने हो भने चितवन जिल्लालाई स्वस्थ्य खाद्यन्न उत्पादनको एक नमुना क्षेत्र बनाउन सकिने कुरामा आफू विश्वस्त रहेको परियोजनाका प्रमूख सिमृन काफ्लेले बताइन्।