गर्मीमा ज्यादै पसिना आउने हुनाले मेकअप जोगाउन विषेश ध्यान दिनुपर्दछ। अत्याधिक पसिना आउँदा घरबाट चिरिच्याट परेर निस्के पनि केहीबेरमै अनुहारको रूप फेरिन सक्छ। त्यसैले गर्मी मौसममा हल्का मेकअप गरेकै राम्रो। गर्मी याममा शरीर सुहाउँदो पहिरन र मेकअपबारे निम्न जानकारी उपयोगी हुनसक्छ।
- गर्मीमा पहिरनलाई विषेश ख्याल गर्नुपर्छ। गर्मीयाममा गुलाबी, हरियो, सेतोजस्ता उज्यालो रङका कपडा लगाउनु राम्रो हो। ‘प्रिन्टेड’ कपडाले पनि गर्मीमा हामीलाई आर्कषक र नयाँ ‘लुक्स’ दिन्छ। यस्ता पहिरनले शरीरको तापलाई नियन्त्रण गर्ने हुनाले हामीलाई गर्मीको आभास अलिक कम हुन्छ।
- युवतीहरूले एकैखालको ‘डिजाइन र ‘स्टाइललाई निरन्तरता दिनु हँुदैन। जसले हाम्रो ‘लुक्स’लाई पुरानो अनि ‘बोरिङ’ देखाउछ। ‘हेयर स्टाइल’ परिवर्तन गरिरहने, कपडा पनि एकैखालको नकिन्ने, मौसम अनुसार के लगाउँदा उपयुक्त हुन्छ भन्ने बारे जानकारी लिने र बजारमा चलेको ‘फेसन’ अनुरूप आफू सुहाँउदो फेसन गर्ने।
- सुन्दरताका लागि सुहाउँदो ‘मेकअप’ र ‘ड्रेसअप’ गर्नुपर्छ। छाला देखिने हुनाले यसको विषेश ख्याल गनुपर्छ। छालालाई स्वस्थ राख्न स्वस्थ जीवनशैली अवलम्बन गर्ने, जसले गर्दा भविष्यमा छालामा आउन सक्ने समस्या हटाउन मद्दत गर्दछ।
- बजारमा कमसल वस्तुहरूको बिगबिगी भएकाले सौन्दर्यका सामान र पहिरनबारे सम्बन्धित सौन्दर्य विज्ञसँग परामर्श गर्ने। हचुवाका भरमा वा कसैले भनेकै भरमा सौन्दर्यका प्रसाधन प्रयोग नगर्नु राम्रो।
घाममा निस्कँदा छालालाई जोगाउन ‘सनग्लास’, ‘सनस्किन’, ‘लोसन’ आदिको प्रयोग गर्ने। सकेसम्म ‘फुलस्लिप’ भएको सुतीका कपडा प्रयोग गर्नु फाइदाजनक हुन्छ। सुतीका कपडाले पसिना सोस्ने हुनाले गर्मीमा यसको विशेष महत्व हुन्छ।