छालामा चाउरीपना देखिनु भनेको सौन्दर्यमा ह्रास आउनु हो। हरेक सौन्दर्यसचेत व्यक्ति चाहे उमेर बढी भएको होस् या उमेरअगाडि नै, यो एउटा ठूलो समस्या नै हो। तर यो समस्या कम गर्न भने हामीले छालाको हेरचाह गर्नु आवश्यक छ।
अहिलेको वातावरणको नकारात्मक असरबाट आफ्नो सुन्दरता जोगाएर राख्न अर्थात चाउरीपना हटाउन, त्यसलाई चम्किलो एवं मुलायम राख्न छालाको राम्रो स्याहार गर्नुपर्छ। यसका लागि डे एवम् नाइट क्रिमको प्रयोग गर्न सकिन्छ। यसको प्रयोगले छालासम्बन्धी अनेक प्रकारका दाग धब्बा वा छिटो चाउरीपनलाई कम गर्छ। विभिन्न कस्मेटिक कम्पनीले गरेको सर्वेक्षणअनुसार नियमित रुपले डे र नाइट क्रिम लगाउनेको उमेर नलगाउनेको तुलनामा ५–७ वर्ष कम देखिन्छ।
डे–क्रिम
वातावरणमा भइरहेको परिवर्तनका कारण हामीले डे–क्रिम अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ। विशेष गरेर २९ वर्षमाथिका मानिसलाई अनिवार्य छ। धेरैजसो डे–क्रिम, क्लिन्जिङ, टोनिङ, मोस्चराइजर गरिसकेपछि प्रयोग गर्नुपर्छ। यसमा विशेषगरी छालालाई चाहिने मोस्चराइजिङ प्रोटेक्टिङ (यूभीए,यूभीबी) हुन्छ। यसले दिनभर हुने सनबर्न (सूर्यको किरणबाट आउने परावैजनी किरण) अथवा बाहिरी प्रदुषण धुलो, धुवाँ, मैलो आदि हाम्रो छालको छिद्रभित्र पस्न दिँदैन। त्यसले हाम्रो अनुहारमा हुनसक्ने सनबर्नबाट हुने दाग या धब्बा रोक्ने काम गर्छ।
यसबाहेक हामीले प्रयोग गरेको फाउण्डेसन, कम्प्याक्ट पाउडरले गर्ने नोक्सानीबाट पनि बचाउने काम गर्छ। त्यसैले मेकअप गर्नुअघि यो क्रिम प्रयोग गर्नुपर्छ। कम्पनीहरुले यो क्रिम तैलिय र सुख्खा दुवै छालाको लागि बनाएका हुन्छन्। तैलीय छालाको लागि अयल फ्रि र सुख्खा छालाको लागि मोस्चराइजर भएको क्रिम प्रयोग गर्नुपर्छ। डे–क्रिम आजभोलि विशेष गरेर सनबर्नका लागि विशेष फर्मुलामा बनाइएको हुन्छ। यसमा प्रोटिन पनि पाइन्छ। हेर्दा कुनै परिवर्तन नदेखिएपनि यसले छालालाई छाताको काम गरिरहेको हुन्छ। डे–क्रिम प्रयोग गर्दा विशेष गरेर प्रोभिटामिन, बी फाइब, एसपिएफ फो, यूभीए, यूभीबी भएको हुनुपर्छ।
नाइट क्रिम
नाइट क्रिमको काम छालालाई ताजगी प्रदान गर्नु हो। दिउँसोको प्रदुषित वातावरणले हाम्रो छालामा भएको पानीको मात्रालाई कम गर्छ। यसले छाला चाउरी पर्ने तथा घामबाट डढ्ने गर्छ। त्यसैले राति सुत्ने बेला क्लिन्जिङ र टोनिङ गरिसकेपछि नाइटक्रिम लगाउनुपर्छ। यो लगाउँदा अनुहार, घाँटीमा हातले बिस्तारै सुमसुम्याउँदै मसाज गर्दै सम्पूर्ण भागमा फैलाउनुपर्छ। यसले छालालाई ताजगी र पुनर्जीवन दिन मद्दत गर्छ।
साथै यसको प्रयोगले छालाको प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ र छालालाई मुलायम तथा सफा राख्न मद्दत गर्छ। यसले बिहान उठ्दा तपाईंको अनुहार ताजा र सुन्दर बन्नुका साथै रिङ्कल पनि बढ्न पाउँदैन। विशेषगरी सुख्खा छाला हुनेले त झन् यो रिङ्कल र नाइट क्रिममा विशेषगरी भिटामिन ए, भिटामिन ई, सोयोलिन, वेट ग्रिम अएल समावेश भएको नाइट क्रिम लगाउनु राम्रो मानिन्छ।
प्रस्तुति: रुपा डाँगी, रुपाज ब्यूटी पार्लर