रसुवा– भूकम्प गएको ३२ महिनापछि जिल्ला अस्पताल रसुवाले नयाँ भवनबाट सेवा सुचारु गरेको छ। भूकम्पले भवन पूर्ण क्षति भएपछि त्रिपालबाट सेवा प्रवाह गर्दै आएको अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरेको हो।
नयाँ भवनबाट सेवा सुरु गरिएसँगै बिरामी तथा चिकित्सकहरुलाई सहज भएको जिल्ला स्वास्थ्य प्रमुख डा गुणनिधि शर्माले बताए। उनले भने, ‘त्रिपालबाट सेवा दिँदा बिरामी तथा चिकित्सक समस्यामा पर्ने गरेका थिए, अहिले प्रिफ्याब भवनबाटै भए पनि सेवा प्रवाह गर्न सहज भएको छ।’
करिब ४ करोड २५ लाखको लागतमा नेपाल रेडक्रस सोसाइटीले ५ वटा शौचालयसहित २० कोठे प्रिफेब्रिकेटेड भवन निर्माण गरेको हो। करिब एक वर्ष लगाएर निर्माण गरिएको भवन पुस १८ गते हस्तान्तरण गरिएको थियो।
भवन निर्माण भएसँगै नेपाल रेडक्रस सोसाइटीले जिल्ला अस्पताल रसुवालाई आवश्यक पर्ने उपकरण समेत उपलब्ध गराएको छ। अस्पताललाई करिब ४२ लाख ९५ हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएको बताइएको छ।
नयाँ भवन करिब ३० वर्षसम्म प्रयोग गर्न सकिने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ। जिल्ला अस्पताल रसुवामा दैनिकजसो २० देखि ५० जनासम्म बिरामीले स्वास्थ्य सेवा लिने गरेका छन्।