सुर्खेत– बालरोग विशेषज्ञ डा नवराज केसी गत शनिवार एक टोलीसहित बराहताल गाउँपालिकाको वडा नम्बर ४ तरंगा पुगे। त्यहाँका १ सय ५० जनाभन्दा बढी बालबालिकाको स्वास्थ्य जाँच गरे। निःशुल्क औषधि बाडें। औषधि सँगसँगै त्यहाँका ४९ जना विपन्न बालबालिकालाई न्यानो कपडा पनि वितरण गरेर फर्किए।
त्यसअघिको शनिवार उनले बराहतालकै वडा नम्बर २ गिरीघाटस्थित बाढीपीडितहरुको अस्थायी शिविरमा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै बालबालिकालाई न्यानो कपडा वितरण गरे।
आउँदो शनिबार उनी यही कामका लागि पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा पुग्दैछन्।
मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत डा केसी यतिबेला विपन्न अवस्थाका बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविरसहित न्यानो कपडा वितरणमा जुटेका छन्। उनले कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई लक्षित गरी ‘न्यानो सुर्खेत’ अभियान सञ्चालन गरेका हुन्। उक्त अभियानमार्फत उनले जिल्लाका गरिब बालबालिकालाई सहयोग पुर्याइरहेका छन्।
बाढीपीडित तथा विपन्न बालबालिकाका लागि ‘न्यानो सुर्खेत’ अभियान सञ्चालन गरिएको डा केसीले बताए। चिसोका कारण बिरामी भएका र आर्थिक अभावका कारण बालबालिकाले उपचार नपाएको भेटिएपछि आफूले यो अभियान सुरु गरेको बताए। बाढीपीडित शिविरबाट सुरु गरिएको अभियानलाई जिल्लाभर पुर्याउने उनको योजना छ।
निःशुल्क औषधि उपचार
न्यानो सुर्खेत अभियान अन्तर्गत बालबालिकालाई न्यानो कपडा, शैक्षिक सामग्री र निःशुल्क स्वास्थ्य जाँचसहित औषधि वितरण गरिन्छ। डा केसीले भने, ‘चिसोले बालबालिका बिरामी हुन थाले, दैनिक एक दर्जन बालबालिका उपचारमा आउँछन्। सबैभन्दा पीडित विपन्न बालबालिका छन्, आर्थिक अभावमा उपचार नै नपाउने अवस्था छ।’
बालबालिकालाई चिसोबाट जोगाउन आफूले न्यानो सुर्खेत अभियान सुरु गरेको डा केसीले बताए। डाक्टर केसीले भने, ‘हामीले क्षेत्रीय अस्पतालमा पनि विपन्न बालबालिकालाई निःशुल्क उपचारको व्यवस्थापन गरेका छौं।’
आर्थिक अभावका कारण ती बालबालिकाले उपचार नै नपाउने अवस्था रहेको भन्दै उनले यसमा सहयोग गर्न लागेको बताए। डा केसीले जिल्लास्थित विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गर्दै यो अभियानलाई अघि बढाउने बताए। जिल्लामा रहेका विपन्न बालबालिकालाई चिसोबाट बचाउन यो अभियानलाई हरेक वर्ष निरन्तरता दिने योजना रहेको डाक्टर केसीले सुनाए। उनले भने, ‘यो वर्ष सुर्खेतमा सञ्चालन गर्नेछौं, दाताहरूले साथ दिने संकेत दिएका छन्। विस्तारै प्रदेशभरि अभियान लैजाने योजना छ। कोही पनि बालबालिका आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने मेरो चाहना हो।’