पानी स्वास्थ्यका लागि सबैभन्दा उपयोगी तत्व हो। पानी धेरै रोग लाग्नबाट जोगाउने शक्तिशाली तत्व हो। तर, विचार नपुर्याई पानी पिउनाले रोगको कारण पनि बन्न सक्छ। पानीबिना हामी जीवनको कल्पनासमेत गर्न सक्दैनौँ। मानिसको शरीरमा ६० प्रतिशत पानी हुन्छ। मानिसलाई बाँच्न पानी नभई हुन्न। पानी किन पिउने त ?
– गर्मीमा ‘लू’बाट बच्न पानीको अत्याधिक प्रयोग गर्नुपर्छ।
– रुघाखोकी लागेको बेला सकेसम्म बढी पानी पिउनुपर्छ। भाइरसका कारण यस्ता रोग लाग्ने भएकाले पानी बढी खानाले पिसाबको माध्यमबाट भाइरस शरीरबाट निस्कन्छ। जसले छिटो स्वस्थ बन्न सहयोग पुग्छ।
– मूत्रनलीको संक्रमणबाट बच्न महिलाले दिनमा सकेसम्म कम्तिमा १० देखि १२ गिलास पानी पिउनुपर्छ।
– महिनावारी भएको समयमा तल्लो पेट दुख्ने समस्या भएका महिलाले तातोपानीमा नुन राखेर केही समय खुट्टा सेक्नाले पेट दुख्न कम हुन्छ।
– कब्जियतको सबैभन्दा उत्तम औषधि पानी नै हो। कब्जियतको समस्या हुने मानिसले दिनभरिमा १० देखि १५ गिलास पानी खानुपर्छ। राती सुत्ने समयमा मनतातो पानी पिउने गर्नुपर्छ। यसले कब्जियतलाई रोक्नुका साथै शरीरमा भएको विषालु तत्व फाल्न पनि मद्दत गर्छ।
– लामो हिँडाइपछि थकाइ लागेको छ, टाउको दुखेको छ भने पानी पिउने गुर्नुपर्छ। साथै, मनतातो पानीमा नुन हालेर खुट्टा डुबाएर केहीबेर राख्नाले थकाइ कम हुन्छ।
– ज्वरो १०३ डिग्री कटेपछि पानीपट्टी लगाउनुपर्छ। तराईतिर ‘लू’ लागेर बेहोस भएको व्यक्तिलाई पानी छम्किनुपर्छ र बेहोसीबाट उठेपछि पानी पिउन दिनुपर्छ।
– आगोले पोलेको बेला प्राथमिक उपचारका रूपमा पानी अमूल्य औषधि हो। पोलेको भागलाई सकेसम्म चिसो पानीमा भिजाएर राख्नाले दुखाइ कम हुनुका साथै छालामा हुन सक्ने भित्री समस्या पनि कम हुन्छ।
– रुघाखोकी लागेको समयमा नाक बन्द हुने समस्याले सताउँछ। यस्तोबेला तातोपानीको बाफ लिएमा बन्द भएको नाक खुल्छ।
– दैनिक रूपमा ‘जलनेती’ गर्नाले घाँटीमा बारम्बार हुने दुखाइको समस्यालाई केही कम गर्न सकिन्छ।