काठमाडौं– आर्मी कलेजबाट एबिबिएस सकेर बसेका डाक्टरले गान्धी इन्टरनेसनल मिसन नेपालसँग मिलेर सिन्धुपाल्चोकमा महिनावारी सम्बन्धी कार्यक्रम गर्ने भएका छन्।
डा अंकिता अग्रवाल र डा प्रकाश पौडेलको पहलमा सिन्धुपाल्चोकको भेडेचौरमा आगामी फागुन १६ गते कार्यक्रम हुन लागेको हो। कार्यक्रम अन्तर्गत भेडेचौरका करिब २ सय महिला र छात्राहरुलाई सेनेटरी प्याड, हात धुने साबुन, स्यानिटाइजर वितरण गर्नुका साथै चेतना फैलाउने काम हुनेछ।
‘अहिले पनि गाउँका महिलाहरुलाई महिनावारीको समयमा राम्रोसँग सरसफाई गर्नुपर्छ भन्नेबारे पूर्ण जानकारी छैन,’ डा अग्रवालले भनिन्, ‘त्यसकारण सरकारी विद्यालयका कक्षा ६ देखि १० सम्मका छात्रा र समाजका महिलाहरुलाई महिनावारीको समयमा हुन सक्ने संक्रमणबाट जोगिने उपायबारे चेतना फैलाउन यो कार्यक्रम गर्न लागिएको हो।’
डा अग्रवालका अनुसार हाललाई यो कार्यक्रम एउटा क्षेत्रमा मात्र सीमित गरिएको छ। तर, क्रमश: गाउँगाउँमा विस्तार गर्दै लैजाने तयारी भएको उनले बताइन्।