बाजुरा- बाजुराको गौमुल गाउँपालिकाले जडीबुटी संकलनमा प्रतिबन्ध लगाउने भएको छ।
गाउँपालिकाको दोस्रो गाउँसभाबाट प्रतिबन्ध गर्ने निर्णय गरेको गौमुल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर थापाले बताए। उनले गाउँपालिकामा हुने विभिन्न खालका जडीबुटी अवैधरुपमा संकलन भएपछि दोस्रो गाउँसभाबाट तीन वर्षसम्मका लागि जडीबुटी संकलनमा रोक लगाइने बताए।
पहिलो गाउँसभाबाट गरिएका विनियोजित बजेट तथा योजना कार्यान्वयन गर्नेसमेत पारित गरिएको अधिकृत थापाले बताए। गाउँपालिकाले गाउँ कार्यपालिकाले पास गरेका निर्णय अनुमोदन गरेको छ।
सभाले चालू आर्थिक वर्ष २०७४/७५ र आगामी आव २०७५÷७६ को बजेट पारित गरेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए। रासस