रसुवा– रसुवामा कुष्ठरोगीको पहिचानका लागि अभियान सुरु भएको छ । जिल्लामा कुुष्ठरोगका बिरामी एकजना भेटिएपछि अन्य रोगीको पहिचानका लागि अभियान सुरु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रसुवाको बार्षिक कार्यक्रम खोजपड्ताल अन्तर्गत द लेप्रोसिक मिसन नेपालको सहयोगमा रोग पहिचान अभियान सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख डा. गुणनिधि शर्माले बताए । ‘जिल्लामा यसअघि कुष्ठरोगी भएको थाहा थिएन, अहिले सदरमुकाम धुन्चेमा रहेको बिस्थापित क्याम्पमा एक जनामा कुष्ठरोग लागेको भेटेपछि अन्य व्यक्तिहरुमा छ कि छैन भनेर खोज्न पहिलोपटक अभियान सुरु गरेका हौं,’ शर्माले भने ।
अभियानअन्तर्गत मंगलबारदेखि विभिन्न जनचेतनामुलक कार्यक्रम सुरु गरिएको छ । विनासकारी भुकम्पबाट विस्थापित भई सदरमुकाम धुन्चेस्थित क्याम्पमा रहेका व्यक्ति र जिल्ला कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण, स्वयंसेविका, बालक्लब र शिक्षकलाई कुष्ठरोगका बारेमा जानकारी, घर–घरमा गई कुष्ठरोग प्रभावितको पहिचान लगायतका जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सुरु गरिएको जिल्ला स्वास्थ्य प्रमुख शर्माले बताए ।
अभियानका क्रममा भेटिएका कुष्ठरोगीलाई निःशुल्क उपचार गराइने भएको छ । जिल्ला स्वास्थ्य प्रमुख शर्माले भन,े ‘अभियानका क्रममा पनि हामी निःशुल्क परीक्षण गछौँ, यदि कुष्ठरोगी रहेको पाइए जिल्लामै उपचार गछौँ, जिल्लामा सम्भव नभए बाहिर पठाएरै भएपनि उपचार गराउनेछौँ ।’
शरीरमा कुनै पनि लाटो, फुस्रो दाग भए कुष्ठरोग लागेको हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । कुष्ठरोग माइक्रोब्याक्टेरियम ‘लेप्री’ जीवाणुले गर्दा हुने दीर्घरोग हो । यसले मुख्यतः छाला, आँखा र स्नायुमा असर गर्ने गर्दछ । 11 संगठन डब्लुएचओका अनुसार यो रोग शरीरमा धेरै ढिलागरी फैलिनुका साथै रोगका लक्षण देखिन ५ देखि २० वर्षसम्म लाग्न सक्छ ।
कुष्ठरोग सरुवारोग भए पनि धेरै कम सर्ने रोगमध्येमा पर्ने चिकित्सकहरुले बताएका छन् । धेरै दिनदेखि उपचार नगराएका संक्रमित रोगीको सम्पर्कमा आए मात्र यो रोग सर्ने सम्भावना रहेको डा. शर्माको भनाई छ ।
यो रोगको सुरुआती लक्षणमा जीउमा रातो, फुस्रो र छुँदा थाहा नहुने दाग देखा पर्न सक्छन् । यसका साथै, हातखुट्टा झमझमाउने, लाटो फुस्रो दाग वरिपरि छालाको रङ उड्ने अथवा छाला कडा हुँदै जाने, हात खुट्टाको नसा सुन्निएर मोटो हुँदै जाने लगायतका लक्षण देखा पर्ने बताइएको छ ।