धनगढी– निजीस्तरमा सञ्चालित स्वास्थ्य प्रयोगशालाहरुलाई तहगत रुपमा राष्ट्रिय स्वास्थ्य प्रयोगशाला संचालन निर्देशिका २०७३ अनुसार कार्यान्वयन गर्नुपर्ने मेडिकल ल्यावोरेटरी एशोसियसन आफ नेपाल (मेलान) ले माग गरेको छ।
बुधबार धनगढीमा सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई भेट्दै ७ नम्बर प्रदेश कार्य समितिले ध्यानाकर्षण पत्र बुझाउँदै उक्त माग गरेका हुन्।
७ नम्बर प्रदेशका संयोजक दीपेन्द्रप्रसाद तिवारीले विभिन्न माग राख्दै ध्यानाकर्षण पत्र मन्त्री सोडारीलाई हष्तान्तरण गरेका हुन् । पत्रमा प्रादेशिक स्वास्थ्यका विभिन्न तहमा स्वास्थ्य प्रयोगशाला सेवाको कर्मचारीहरु राख्नु पर्ने, प्रादेशिक स्तर तथा स्थानीय तहमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरुमा पनि आवश्यक्ता अनुसार स्वास्थ्य प्रयोगशाला सेवा विस्तार तथा दरवन्दी संरचना हेरफेर गर्नुपर्ने, सरकारी तथा निजी स्वास्थ्य प्रयोगशालामा कार्यरत जनशक्तिहरुलाई जोखिम भत्ताको व्यवस्था हुनुपर्ने माग गरिएको छ।
त्यस्तै, प्रादेशिक तथा स्थानीय स्तरमा भएका विभिन्न स्वास्थ्य प्रयोगशालाहरुलाई निजी सरकारी साझेदारी प्रक्रियाबाट कार्यान्वयन गराउनुपर्ने, प्रादेशिक तथा स्थानीय स्तरमा हुने अनुगमन तथा गुणस्तर र रिसर्च तथा तालिम शाखामा मेलानको पनि प्रतिनिधित्व गराउनुपर्ने, प्रादेशिक तथा स्थानीय स्तरमा भएका विभिन्न स्वास्थ्य प्रयोगशालाहरुमा जेष्ठताको हिसाबले शाखा तथा फाँटको जिम्मेवारी दिनुपर्ने र छुट्टै आधुनिक स्वास्थ्य प्रयोगशाला भवनको स्थापना गर्नुपर्ने माग गरिएको छ।
पत्र बुझ्दै मन्त्री सोडारीले प्राविधिक विषय भएकाले आफुले विज्ञ टोलीसंग छलफल गरेर ल्याबरोटरीका पक्षमा सकारात्मक ढंगले काम गर्ने बताए।