कैलाली- चिकित्सकहरुले हात्तीपाइले रोग विरुद्धको औषधि सेवनका लागि सबैमा आग्रह गरेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा चिकित्सकले यस्तो आग्रह गरेका हुन।
उनीहरुले औषधी सेवन गर्न योग्य उमेर समूहका सबै व्यक्तिलाई आम औषधि वितरण कार्यक्रममा सहभागि भएर औषधि सेवन गर्न भनेका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक टंक प्रसाद चापागाईंले औषधिको सामान्य ‘साइड इफेक्ट’ का कारण धेरै मान्छेले हात्तीपाइले विरुद्धको औषधि सेवन गर्न डर मानेको भन्दै उनीहरुले ढुक्क भएर औषधि सेवन गर्न आग्रह गरे।
‘साइड इफेक्ट नगर्ने कुनैपनि औषधी हुँदैन । तर, नकारात्मक हल्लाका कारण धेरै मान्छेले यो औषधि खाँन मान्दैनन,’ उनले भने, ‘ग्रामीण क्षेत्रभन्दा सहर बजारकै मान्छेले औषधि खान हिचकिचाइरहेका छन् । यो औषधि निर्धक्क भएर सेवन गर्दा हुन्छ।’
हात्तीपाइले विरुद्धको औषधी सेवन गरेमा रोगबाट प्रभावित भएका व्यक्तिलाई बढी ‘साइड इफेक्ट’ देखिने गर्दछ । तर, कसै–कसैलाई बान्ता हुने, टाउको दुख्ने, ज्वरो आउने, चिलाउने, पेट दुख्ने तथा औषधीले झुम्म पारेको जस्तो लाग्ने असर देखा गर्दछन्।
यस्तो असर केही घण्टापछि आफै निको हुने वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईंले बताए । उनले औषधीको असरबाट बच्नका लागि प्रयाप्त मात्रामा पानी, झोलिलो लगायतका पेय पदार्थ पिउनु पर्ने बताउदै बढी असर देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिएका छन् । ‘यो औषधी खाएर मान्छे मर्दैन’, उनले भने ‘बरु, औषधी नखाए हात्तीपाइले रोगले आजीवन अपाङ्ग बनाउछ।’
कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले नेपालमा हरेक दिन सात सय मान्छेको मृत्यु हुने गरेका सरकारी तथ्यांक रहेको उल्लेख गरे । औषधि सेवन गरेकै दिन केही मान्छे विविध कारणले मर्ने गरेकाले बेला–बेलामा आम औषधि वितरण कार्यबारे भ्रमपूर्ण र आधारहीन खबर बाहिर आउने गरेको उनले बताए।
जिल्लामा भोलीदेखि तीन दिन औषधि खुवाउने कार्यक्रम छ। जिल्लाका साढे आठ लाखभन्दा बढीलाई औषधि खुवाउने कार्यक्रम छ। सरकारले सन् २०२० सम्ममा देशबाट हात्तीपाइले उन्मुलन गर्ने लक्ष्य लिएको छ। यस वर्ष यहा“का साढे आठ लाखभन्दा बढी जनसंख्यालाइ औषधी खुवाउने जिल्ला जनस्वास्थ्य कार्यालयले लक्ष्य राखेको छ ।
कैलालीमा शनिवारबाट शुरु हुन लागेको औषधी सेवन अभियानको यो छैठौं चरण हो । ७ नम्बर प्रदेशको कैलाली र कञ्चनपुरमा पाँचौं चरणसम्म पनि औषधी सेवन कार्यक्रम सञ्चालन गरिएपनि अझै हात्तीपाईलेको जोखिम यथावत रहेको छ । ७ नम्बर प्रदेशको कैलाली र कञ्चनपुरमा पुनः अर्को पटक पनि यो अभियान सञ्चालन गरिने छ । यस प्रदेशका अन्य जिल्लामा भने हात्तीपाईलेको जोखिम नभएपछि छैठौं चरणपश्चात अभियान सञ्चालन गरिने छैन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाईजर हरिप्रसाद भट्टले अभियानका बारेमा जानकारी गराएका थिए ।