काठमाडौं- एमबिबिएसमा भर्ना गरिदिने भन्दै ठगी गरेको आरोपमा ललितपुर धोबीघाटका रमेशप्रसाद चौहान पक्राउ परेका छन्।
उनले भारतको बनारस हिन्दु विश्वविद्यालयमा एमबिबिएसमा भर्ना गरिदिने भन्दै लाखौं रकम ठगी गरेको प्रहरीले जनाएको छ। महानगरीय अपराध महाशाखाले उनलाई बुधबार पक्राउ गरेको हो।
पक्राउ परेका चौहान जिपिसी कन्सलटेन्सीका कर्मचारी हुन्। सो कन्सलटेन्सीका सञ्चालक अंकित गुप्ताको जाहेरीमा प्रहरीले उनलाई पक्राउ गरेको हो। चौहानले ३५ देखि ४० लाखमा भर्ना गरिदिने भन्दै विश्वासमा पारेर विभिन्न विद्यार्थीमाथि ठगी गरेका हुन्।
भर्नाको नक्कली कागज देखाएर उनले ८ लाख लिएको र थप ३० लाख रुपैयाँ माग्ने क्रममा कन्सलटेन्सीका सञ्चालकले थाहा पाएपछि प्रहरीमा उजुरी गरेर पक्राउ गराएका हुन्।