रुपन्देही– रुखबाट लडेर टाउकोमा चोट लागेका प्युठानका एक बालकको आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ ।
रुखबाट लडेका प्यूठान गौमुखी गाउँपालिका वडा नम्बर ७ रातामाटा निवासी उमेश घर्तीमगर अचेत अवस्थामा छन् ।
गत माघ २२ गते रुखबाट लडेर १५ वर्षीय बालकको टाउकोमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ। अतिविपन्न परिवारका बालकको थप उपचारका लागि आर्थिक समस्या परेको छ । हालसम्म चारलाख रुपैयाँ खर्च भइसकेको र अन्यत्र लगेर उपचार गर्न पनि आर्थिक अभावको कारण नसकिएको उमेसका बुवा खिमानसिँह घर्तीले बताए।
रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत छोराको उपचारको लागि आर्थिक सहयोग गर्न घर्तीले सबैलाई अपिल समेत गरेका छन् । ‘उमेशलाई बचाउनका लागि लामो समयसम्म उपचार गर्नुपर्ने र त्यसका लागि ठूलो खर्च लाग्ने डाक्टरले भन्नुभएको छ,’ उनले भने।
उमेशलाई बचाउन आर्थिक चाहिने र आर्थिक संकलनका लागि उमेश बचाउ अभियान चलाइने भएको छ । आइतवारदेखि राष्ट्रिय वाणिज्य बैंकमा खाता खोली उमेश बचाउ अभियान सञ्चालन गरिने अभियन्ता श्यामलाल पोखरेलले बताएका छन्।
आर्थिक संकलनका लागि राष्ट्रिय वाणिज्य बैंकका कानुनी प्रक्रियाअनुसार खाता खोली सहयोगका लागि सबैलाई आग्रह गरिनेछ ।