धनगढी- प्रदेश नम्बर ७ का सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले महाकाली अञ्चल अस्पतालको सेवा, सुविधा प्रभावकारी बनाउनतर्फ लाग्ने बताएका छन्।
अस्पतालको शनिबार निरिक्षण गर्दै मन्त्री सोडारीले अस्पतालको सेवा, सुविधा किन प्रभावकारी भएन भन्ने अध्ययन पनि गरिने बताए। सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य मन्त्रालय समेत पर्दछ।
सम्भव त सात नम्बर प्रदेशकै भव्य संरचनामा बनेको महाकाली अञ्चल अस्पताललाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीयहरुले पनि चासो राख्नु पर्नेमा उनको जोड थियो।
मन्त्री सोडारीले अस्पतालका बिरामीलाई फलफुल समेत वितरण गरेका थिए।
मन्त्री सोडारीले शनिबार नै स्थानीय सुरेन्द्र केसीलाई हात्तिपाइलेको औषधि खुवाएर औषधि खुवाइने कार्यक्रमको शुभारम्भ गरे। सो अवसरमा बोल्दै उनले हात्तिपाइलेको औषधि खुवाउने कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न स्वास्थ्यकर्मी र स्वयसेवकलाई आग्रह गरे।
नेपाल सरकारले कैलाली, कञ्चनपुर सहितका तराईका जिल्लामा तीनदिने हात्तिपाइले विरुद्धको औषधि खुवाइने कार्यक्रम शनिबारदेखि शुरु गरेको छ ।