पोखरा- बढ्दो सवारी दुर्घटना न्युनीकरणमा सहयोग पुर्याउन सार्वजनिक सवारीसाधनका चालक र सहचालकको लागि निःशुल्क आँखा परीक्षण गरिएको छ। आइतबार सञ्चालित शिविरमा ९ सय ७० जनाको आँखा परीक्षण गरियो।
हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको रजत महोत्सव एवं लायन्स क्लब अन्तर्राष्ट्रियको सय वर्ष पुगेको अवसरमा आयोजना गरिएको आँखा परीक्षण शिविरबाट २० जनालाई थप उपचारका लागि हिमालयन आँखा अस्पताल पठाइएको छ।
पोखराको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा बिहान ९ देखि साँझ ५ बजेसम्म सञ्चालित शिविरमा ४ सय जनतालाई औषधि र ३ सयभन्दा बढीलाई निःशुल्क चस्मा प्रदान गरिएको कार्यक्रम संयोजक विनोद ढुंगानाले जानकारी दिए।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट गभर्नर धनराज आचार्यले ३० वर्षदेखि निरन्तर सार्वजनिक यातायात चलाउँदै आएका ६५ वर्षीय गंगाप्रसाद जोशीलाई परीक्षण दर्ता कार्ड प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए।
एउटा चालकको आँखाले सयौँ यात्रुको आँखाको प्रतिनिधित्व गर्दछ भन्दै उनले चालकको आँखा परीक्षणले दुर्घटना न्युनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष तथा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार शाहीले सामाजिक उत्तरदायित्व बहनमा लायन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै यस्ता कार्यले निरन्तरता पाउनुपर्नेमा जोड दिए।रासस