काठमाडौं- अपाङ्ताको क्षेत्रमा काम गर्ने नेपाली गैरसरकारी संस्था करुणा फाउनडेसनले हालै दुईवटा अन्तर्राष्ट्रिय पुरस्कार (अवार्ड) हासिल गरेको छ । करुणाद्वारा इलाम जिल्लामा सञ्चालित ‘हेरचाहको लागि उत्प्रेरणा कार्यक्रम’लाई ‘उच्च सम्भावनायुक्त समाधान’ भन्दै अन्तर्राष्ट्रिय अवार्डका लागि छानिएका ४ प्रतिस्पर्धीमध्येबाट अन्तिम १० मा समावेश गरिएको हो।
अष्ट्रियाको राजधानी भियनास्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा आयोजित विशेष समारोहमा करुणालाई उक्त अवार्ड दिइएको हो । फ्रेब्रुअरी २१ देखि २३ सम्म भियनामा आयोजित ‘जिरो प्रोजेक्ट कन्फ्रेन्स’मा करुणाले सञ्चालन गरेको परियोजनालाई ‘सफल मोडल’ को संज्ञा दिँंदै सहभागीहरुले प्रशंसा गरेका थिए । परियोजनाबाट ५ हजारभन्दा बढी लाभान्वित भइसकेका छन् । उत्कृष्ट १० मा पर्नुका साथै करुणा ‘पहुँचको लागि नयाँ अभ्यास’ विधामा समेत छनोट भएको छ । कार्यक्रममा भियनास्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका लागि नेपालका लागि नायब स्थायी प्रतिनिधि अम्बर बहादुर कार्कीको पनि उपस्थिति थियो।
विभिन्न देशमा सञ्चालित प्रभावकारी र उच्च सम्भावनायुक्त परियोजनाको खोजी गर्दै जिरो प्राजेक्ट र अशोकाले संयुक्तरूपमा अवार्डको घोषणा गरेका हुन् । जिरो प्रोजेक्ट ईएसएसएल फाउन्डेसनद्वारा सञ्चालित परियोजना हो जसले विश्वभर अपाङ्ताको क्षेत्रमा काम गर्छ । अन्तर्राष्ट्रिय संस्था अशोकाले विश्वभर सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्दै आएको छ । अपाङ्ता भएका व्यक्तिको लागि लाभदायी हुने नयाँ र प्रभावकारी समाधानलाई अन्तर्राष्ट्रियकरण गर्न ईएसएसएल फाउन्डेसन र अशोकाले सहकार्य गरेका छन् ।
अपाङ्ता भएका व्यक्तिका लागि अवरोधमुक्त विश्व निर्माणको लागि सहकार्य गरेको दुवै संस्थाले जनाएका छन् ।
करुणा फाउण्डेसनले हेरचाहको लागि उत्प्रेरणा परियोजनाले विकासोन्मुख देशका अपाङ्ता भएका बालबालिकालाई सामाजिक सहभागिता गराउने तथा जन्मजात अपाङ्गतालाई निवारण गर्ने लक्ष्य राखेको छ।
परियोजनाको यो मोडल दुर्गम समुदायका सदस्यलाई अपाङ्ता भएका बालबालिकाको लागि काम गर्न सक्ने बनाउन केन्द्रित छ । यो मोडल सजिलै र प्रभावकारीरुपमा अन्य समुदाय वा देशमा पनि लागु गर्न सकिन्छ ।
‘यो दीगो प्रभाव पार्ने र उच्च सम्भावनायुक्त मोडल हो । इन्स्पायरटूकेयरले आफ्नो लागि आफै काम गर्न खोज्ने समुदायलाई सक्षम बनाउँछ,’ करुणा फाउण्डेसनका निर्देशक दीपक राज सापकोटा भन्छन्, ‘यो मोडल स्थानीय स्रोतको परिचालन गर्ने र आत्मनिर्भर बनाउनमा केन्द्रित छ । यसले गर्दा इन्स्पायरटूकेयर परियोजनाको समाप्तीपछि पनि स्थानीयहरु आफैं यसलाई निरन्तरता दिन सक्षम बन्नेछन्।’