रसुवा – रसुवामा २ सय भन्दा बढी मानसिक रोगका बिरामी रहेको एक तथ्याङकले देखाएको छ। मानसिक तथा परामर्श केन्द्र सिएमसी नेपालले जिल्लाको बिभिन्न ७ स्थानको स्वास्थ्य चौकिमा गरेको सर्वेक्षणमा २ सय ४९ जनामा मानसिक स्वास्थ्य समस्या रहेको देखाएको हो।
हाल, जिल्लाको थाम्मुचेत स्वास्थ्य चौकिमा उपचार गराएका मध्ये १३ जना, स्याफ्रु स्वास्थ्यचौकिमा उपचार गराएका मध्ये २७ जना, जिल्ला अस्पताल धुन्चेमा उपचार गराएका मध्ये ४० जना, राम्चे स्वास्थ्य चौकिमा उपचार गराएका मध्ये १८, जिबजिबे स्थास्थ्य केन्द्रमा उपचार गराएका मध्ये १२७ जना ठुलोगाउँ स्वास्थ्य केन्द्रमा उपचार गराएका मध्ये १७ र पारच्याङ स्वास्थ्य केन्द्रमा उपचार गराएका मध्ये ७ जना मानसिक रोगि रहेको जिल्ला स्वास्थ्य कार्यालय रसुवालाई उदृढ गर्दै मानसिक तथा परामर्श केन्द्र सिएमसी नेपालले जनाएको छ।
स्वास्थ्य संस्थामा उपचार गराएका मध्ये १२ बर्ष देखि ६५ बर्षसम्मको व्यक्तिहरुमा मानसिक रोग देखिएको सोमबार सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गरि मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सिएमसी नेपालका सहजकर्ता रमिता श्रेष्ठले बताइन्।
उनीहरुमा मानसिक असन्तुलन, दिगदारीपन, चिन्ता, कन्भर्जन डिसअर्डर र छारेरोगको समस्या रहेको श्रेष्ठको भनाई छ।
यस्तै जिल्ला अस्पताल तथा स्वास्थ्य चौकिमा आएका बिरामीहरु मध्ये करिव ७० प्रतिशत महिलाहरुमा मानसिक रोग देखिने गरेको बरिष्ठ मनोचिकित्सक डा विद्यानाथ शर्माले बताए। उनले भने, 'जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थामा आउने करिब ७० प्रतिशत महिलामा मानसिक रोग रहेको देखिएको छ, त्यसैगरि ३० प्रतिशत पुरुषमा मानसिक रोग रहेको पाइएको छ ।' रसुवामा देखिएका २ सय ४९ मध्ये ७ जना कडा खालको मानसिक रोगि रहेको बताइएको छ । उनीहरुलाई रिदम न्युरोड साइकाटीक हस्पिटल तथा मानसिक अस्पतालमा उपचार गरि घर फर्काइएको सिएमसी नेपालका सहजकर्ता रमिता श्रेष्ठले बताइन् । ७ जना मध्ये ३ जनालाई जिविकोपार्जन अन्तर्गत सिलाई मेसिन र बाख्रा बितरण गरिएको जनाइएको छ ।
यस्तै जिल्ला अस्पताल धुन्चेमा आउने सय जना बिरामीमा २५ देखि ३० जनामा मानसिक रोगि रहेको भेटिने गरेको जिल्ला स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
मानसिक रोगका बिरामीलाई मध्यनजर राख्दै जिबजिबे स्वास्थ्य चौकिमा हरेक महिनाको १५ गते बरिष्ठ डाक्टरहरुद्धारा निशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श शिबिर संचालन गर्दै आएको श्रेष्ठले बताइन् । रसुवामा मानसिक रोगका बिरामीहरु धेरै रहेपनि अधिकाशं मानसिक रोगका बिरामीहरु उपचारका लागि नुवाकोट तथा काठमाण्डौ जाने गरेका छन् ।