नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट –सुस्ता पूर्व) जिल्लामा कुष्ठरोग उन्मूलनका लागि गरिएको ‘सर्च अभियान’ मा कुष्ठरोगका नयाँ ८८ बिरामी फेला परेका छन्।
खोजी अभियानअन्र्तगत नवलपुर क्षेत्रमा १६ र परासी क्षेत्रमा ७२ बिरामी पहिचान भएका हुन्। नवलपुर र परासी क्षेत्रका १२ स्थानीय तहमा कुष्ठरोगका बिरामी पत्ता लगाउन सञ्चालन गरिएको अभियानबाट कुष्ठरोगका नयाँ बिरामी पहिचान भएको मध्यविन्दु सामुदायिक स्मृति अस्पताल डण्डाका कार्यक्रम प्रमुख रामराज पण्डितले बताए। स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीसहितको विशेषज्ञ टोलीले घरघरमा पुगेर शङ्कास्पद बिरामीलाई दामियन फाउन्डेशनको सहयोगमा पहिचान गरी परीक्षण गरिएको थियो।
नेपाललाई सन् २०१० मा नै कुष्ठरोग उन्मूलन भएको भनेर घोषणा गरिको भए पनि नवलपरासीसहित रुपन्देही, कपिलवस्तु, कैलालीलगायत जिल्लामा कुष्ठरोग भएका बिरामीको दर बढी पाइएकाले खोजी अभियान सञ्चालन गरिएको थियो । नवलपरासीमा गत वर्ष मात्र ७७ नयाँ कुष्ठरोगी भेटिएकामा दुई जना अङ्गभङ्ग र चार बालबालिका रहेको बताइएको छ। रासस